

सुर्खेत । आगामी फागुन २१ मा हुँने प्रतिनिधिसभा निर्वाचनको लागि कालिकोटमा अहिले १० जना उम्मेदवार चुनावी मैदानमा छन् । जस मध्ये पूर्व माओवादी धारका दुई जना हेबीवेट नेता महेन्द्र बहादुर शाही र नेकपा (माओवादी)बाट खड्ग बहादुर विश्वकर्मा पहिलो पटक चुनावी प्रतिस्पर्धामा छन् ।
यी दुई हेबीवेट मध्ये शाही प्रदेश र संघ गरी तीन पटक कालिकोटबाट निर्वाचित भईसकेको व्यक्ति हुन् । उनी संघको उर्जा मन्त्री र कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री भइसकेका छन् । शाही अहिले चौथो पटक चुनावी मैदानमा उत्रिएका छन् भने विश्वकर्मा पनि ०६४ को पहिलो संविधानसभाको निर्वाचनमा निर्वाचित भई महिला, बालबालिका तथा समाजकल्याण र पर्यटन तथा नागरिक उड्यान मन्त्री भइसकेका व्यक्ति हुन् । विश्वकर्मा अहिले १८ बर्ष पछि दोस्रो पटक चुनावी मैदानमा आएका छन् ।
प्रचण्ड र बाबुराम लगायतका नेताहरुले संसदीय बाटो रोजेको भन्दै तत्कालिन नेकपा (माओवादी)का नेता मोहन बैद्यले ०६९ असार ४ मा पार्टीबाट विद्रोह गर्दै नयाँ पार्टी गठन गरेका बेला विश्वकर्मा पनि उक्त विद्रोहको पछि लाग्दै प्रचण्डबाट अलग भएका थिए । त्यस पश्चात उनि विप्लव नेतृत्वको पार्टी नेकपा (माओवादी)मा दोस्रो तहको नेताको रुपमा रहदै आएका छन् ।
गएको ०७९ को निर्वाचनको परिणामलाई हेर्दा कालिकोटमा सांगाठानिक रुपमा तत्कालिन नेकपा (माओवादी केन्द्र) अहिलेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बलियो देखिए पनि अहिले विप्लव नेतृत्वको नेकपाबाट १८ बर्ष पछि दोस्रो पटक चुनावी मैदानमा उत्रिएका विश्वकर्माका कारण बाहिरबाट हेर्दा पूर्व माओवादी धारको लडाई जस्तो देखिएको छ । यसको फाइदा नेकपा (एमाले) र नेपाली काँग्रेसले लिन खोजिरहेका छन् ।
चुनावी प्रचार अभियानलाई नेकपा (माओवादी)का खड्ग बहादुर विश्वकर्माले आफुहरुले संसदीय व्यवस्थाको विरोध गरेको स्वीकार गर्दै यो व्यवस्थाले जनताको प्रतिनिधित्व नगर्ने भन्दै आफ्नो क्रान्तिबारे प्रस्ट्याउँदै अहिले पनि आफ्नो पार्टीलाई नजिताए देशमा झन ठुलो क्रान्ति हुन्छ भन्दै हिडिरहेका छन् भने यता नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का महेन्द्र बहादुर शाहीले आफु कर्णालीको पूर्व मुख्यमन्त्री हुने बेला कालिकोटको वडा वडा सम्म विकास निर्माणको लागि बजेट पु¥याएको स्मरण गराउँदै बाँकी रहेका विकास निर्माणका कामहरुलाई आफु निर्वाचित भएर गए पुरा गर्ने बाँचा गरिरहेका छन् ।
२३ माघमा कालिकोट खाडाँचक्र नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा नेता नेकपा (माओवादी)का उम्मेदवार खड्ग बहादुर विश्वकर्माले कालिकोटका जनताले ०६४ बाहेक अरु निर्वाचनमा आफ्नो उम्मेदवार नपाएको भन्दै अहिले फेरी २१ फागुनमा हुँने निर्वाचनमा आफ्नो उम्मेदवारी रहेकाले आफु जनताको उम्मेवार भएको प्रष्ट्याए ।
यता नेपाली कम्यनिष्ट पार्टीका उम्मेदवार महेन्द्र बहादुर शाही भने संसदीय राजनीतिको सुरुवातमै विश्वकर्मा नेतृत्वको पार्टीबाट असहयोग खेप्दै आएका नेता हुन् । विश्वकर्माले मुल पार्टीबाट विद्रोह गर्दा शाही ०७० मा भएको दोस्रो संविधानसभाको निर्वाचनमा कालिकोटबाट चुनाव लडेका थिए । त्यो बेला विश्वकर्मा संसदीय राजनीतिको विरोध गर्दै चुनाव बहिस्कारको अभियानमा भएको बेला शाहीको घरमा त्यो बेला संसदीय निर्वाचन लडेको भन्दै विश्वकर्मा सम्बद्ध पार्टीका कार्याकर्ताहरुले कालो झण्डा समेत गाडेका थिए ।
०७० यता तीन पटक चिर्वाचित भइसकेका शाही चौथो पटकको चुनावी प्रतिस्पर्धामा छन् भने विश्वकर्मा ०६४ बाहेक सबै निर्वाचन बहिस्कार गर्दै आगामी फागुन २१ को निर्वाचनमा दोस्रो पटक प्रतिस्पर्धामा छन् । चुनावी प्रचारका क्रममा शाहीले सुरुवातमा ल्याएको घोषणा पत्र अनुसार जनतासँग मत मागिरहेको देखिन्छ भने विश्वकर्माले अहिलेसम्मका चुनाव बहिस्कार गर्दै हिड्नुको बारेमा जनतालाई प्रष्ट्याउँदै ठिक्क छ । यता नेपाली काँग्रेस र नेकपा (एमाले) भने आफ्नो पुरानै शैलीमा चुनाव प्रचार अभियानलाई तिव्र बनाइरहेका छन् ।
नेकपा (माओवादी )का नेता खड्ग बहादुर विश्वकर्माले पूर्व माओवादी धारको मत काट्ने आँकलन गरे पनि पार्टी विभाजनको श्रृङ्खला धेरै बर्ष बितिसकेकाले यसले महेन्द्र बहादुर शाहीको सांगाठानिक भोटरहरुलाई खासै असर नपर्ने राजनीतिक विश्लेषक पिताम्बर ढकाल बताउछन् ।
ढकालका अनुसार विद्रोह जति गरे पनि सत्तामा पुग्ने र सत्तामा आफ्नो सहभागिता जनाउँने पहिलो ख्ट्किलो भनेको नै संसदीय निर्वाचन भएकाले सुरुवातिमा यसको विरोध गर्ने र पछि आफ्नो सहभागिता यहि संसदीय व्यवस्था मार्फत गर्न खोज्नुले पनि विश्वकर्मालाई यसले ठुलो घाटा पु¥याउने छ ।
“विश्वकर्मा जी पनि राम्रो प्रोफाइल भएको नेता हुनुहुन्छ यता महेन्द्र बहादुर शाही पनि कर्णाली प्रदेशको प्रथम मुख्यमन्त्री र संसदीय अभ्यासमा विश्वकर्मा भन्दा शाही अलि परिपक्क देखिनु हुन्छ,”विश्लेषक ढकाल भन्छन्,“पार्टी अदल बदलको घटना क्रम धेरै लामो भइसकेकाले यसमा खासै दुबै जनाको राजनीति विराशतमा असर देखिदैन ।”

झिल्को खबर । २७ माघ २०८२, सोमबार २०:४३