संसदीय राजनीतिका ‘विद्रोही’ कमान्डर प्रकाश ज्वालाको सिंहदरवारसम्मको संघर्षशील यात्रा

कर्णाली प्रदेश सभामा ३ वैशाख, २०७८ मा भएको ‘फ्लोर क्रस’को घटनाले देशको राजनीतिलाई तरंगित बनायो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा कर्णाली प्रदेश सभाका नेकपा एमालेका ४ जना प्रदेश सभा सदस्यले फ्लोर क्रस गरे । ती मध्येका मुख्य कमाण्डर थिए प्रकाश ज्वाला ।

नेकपा एमाले पोलिटब्यूरो सदस्य समेत रहेका उनले पार्टीको ह्विप उल्लंघन गर्दै गरिएको ‘फ्लोर क्रस’लाई सत्य र निष्ठाका लागि गरिएको विद्रोह भन्ने गरेको थिए ।

उनकै समकक्षी नेताहरु भने ‘फ्लोर क्रस’लाई संसदीय अपराधको संज्ञा दिदै ज्वालाको राजनीतिक करिअर सकिएको आकंलन गर्थे । समकक्षी नेताहरुको मात्रै हैन केही समर्थक र एमालेजनको कडा आलोचना सहदै आफ्नो विद्रोह आवश्यक रहेको र सहि भएको अडान नछाडेका ज्वाला निरन्तर राजनीतिक कर्ममा व्यस्त भईरहे ।

एमालेले पार्टीको ह्वीप उल्लंघन गरी जघन्य अपराधपूर्ण काम गरेको भन्दै ज्वालालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन ग¥यो । त्यही बीचमा पार्टी नै विभाजित भयो । माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी बन्यो।

नेपाल निकट रहेका ज्वालालाई नयाँ पार्टीको उपमहासचिव एवं कर्णाली प्रदेश इञ्चार्ज बनाईयो । अधिकाशं समय जिल्लामा पार्टीको सांगठनिक जिम्मेवारीमा व्यस्त बन्दै गएका ज्वाला ०७९ को प्रतिनिधिसभा चुनावमा सल्यानबाट निर्वाचित भए । त्यसलगत्तै एकाएक राष्ट्रिय राजनीतिको केन्द्रमा आफुलाई दर्बिलो रुपमा उपस्थित गराएका ज्वाला संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् ।

को हुन्, प्रकाशबहादुर बुढाथोकी ‘प्रकाश ज्वाला’ ?

०२३ मंसिर १२ गते सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ मा जन्मिएका प्रकाश ज्वालाको राजनीतिक यात्रा संघर्षशील छ । पञ्चायत विरोधी संघर्षमा सम्मिलित भएको आरोपमा तीन वर्ष जेल जीवन बिताएका उनी विद्यार्थी राजनीतिबाट उदायका नेता हुन् ।
०४२ सालदेखि अनेरास्ववियुको प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्मको जिम्मेवारी लिदैँ आफ्नो राजनीतिक यात्रालाई अगाडि मात्रै बढाएनन् लामो समय विद्यार्थी राजनीतिमा नै सक्रिय थिए ।

०५१ को आम निर्वाचनमा नेकपा एमाले सल्यान १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका उनी सो निर्वाचनमा पराजित भए । तर ज्वालाले ०५६ को आमनिर्वाचनमा भने सोही निर्वाचन क्षेत्रबाट विजयी हासिल गरे । सल्यानबाट उनले जीत हासिल गर्दा माओवादी जनयुद्ध उक्त क्षेत्रमा फैलँदै थियो ।

त्यतिबेला प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा प्राकृतिक स्रोत साधन समितिको सभापति भएका ज्वालाले तत्कालीन राजा र दरबारको जग्गा लगायत सम्पत्ति छानबिनमा लागेर लोकप्रियता कमाएका थिए ।

०६२ ०६३ को आन्दोलनमा सक्रिय भूमिका खेलेका ज्वाला ०७० सालको दोस्रो संविद्यान सभा निर्वाचनमा सल्यानबाट निर्वाचित भए । ज्वालाले ०७१ सालमा अर्थ समितिको सभापति भएर पनि काम गरिसकेका छन् ।

दोस्रो संविधानसभामा संविधान निर्माण प्रक्रिया जटिल बनेका बेलामा ज्वाला लगायतका केही नेताले ‘संविधान निर्माण दबाब’ अभियान नै चलाएका थिए ।

ज्वालाले ०७४ मा एमालेबाट सल्यान (ख) बाट प्रदेशसभा चुनाव जितेर कर्णाली प्रदेश सरकारको अर्थमन्त्रीको भूमिका निर्वाह गरेका थिए । त्यतिबेला ज्वाला १९ हजार ८३६ मत ल्याएर निर्वाचित भएका थिए । मुख्यमन्त्री बन्ने महत्वाकांक्षाका साथ प्रदेश सभामा चुनाव लडेका ज्वालाले प्रदेशको मात्र नभई राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाउने गरी कदम चाले ।

१० वर्ष नेकपा एमाले जिल्ला कमिटी सल्यानको सचिव बनेका ज्वाला सल्यानमा प्रभावशाली नेताको छवि बनाउन सफल छन् । युवावस्थामै सल्यानको भूगोलमा जम्न सकेका ज्वाला सल्यानमा व्यक्तिगत रूपमा बलिया र राष्ट्रिय राजनीतिमा समेत प्रभाव राख्ने नेतामा पर्छन् ।

अनेरास्ववियुको राजनीतिबाट तत्कालीन माले र एमाले जिल्ला नेतृत्व गर्दै एमाले राप्ती अञ्चल इञ्चार्ज, पोलिटव्यूरो सदस्य, कर्णाली प्रदेश सहइञ्चार्ज, केन्द्रीय संगठन विभागका सदस्य भएर पनि उनले काम गरिसकेका छन् ।

राजनीतिमा जस्तै लेखकका रूपमा पनि परिचित छन् ज्वाला । उनका ‘प्रतिनिधिसभामा प्रकाश ज्वाला’, ‘एक्काइसौँ शताब्दी समाजवादको शताब्दी’ र ‘वैचारिक विचलनको भूमरीमा माओवादी आन्दोलन’ लगायतका कृति प्रकाशित छन् ।

राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका उनले २०६७–२०६८ सम्म तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको प्रमुख राजनीतिक सल्लाहकार भएरसमेत काम गरेका थिए ।

कर्णालीको पहिलो अर्थमन्त्री बनेका ज्वालाले तत्कालीन नेकपाभित्रको अन्तरसंघर्षका क्रममा कर्णाली प्रदेशसभामा माधव कुमार नेपाल खेमाको लिड गर्दै ओली पक्षधर यामलाल कँडेलहरूको विरुद्धमा विद्रोह गरेका थिए । उनीसहित चार जना तत्कालीन एमाले सांसदले ‘फ्लोर क्रस’ गरेर माओवादी नेता महेन्द्रबहादुर शाहीको सत्ता जोगाएका थिए ।

ज्वालाहरुकै विद्रोहको परिणाम कर्णालीमा तत्कालीन अवस्थामा अहिले बनिरहेको गठबन्धनको आधार तयार भएको थियो । एकीकृत समाजवादीको प्रदेश इन्चार्ज समेत रहेका ज्वाला माधव नेपालका विश्वास पात्र हुन् । उनले नेपाललाई कठिन परिस्थितिमा साथ दिदै आएका छन् ।

पञ्चायत विरोधी संघर्षमा सम्मिलित भएको आरोपमा तीन वर्ष जेल जीवन बिताएका ज्वालाले जेल बसाइकै क्रममा प्रकाशबहादुर बुढाथोकीबाट ‘प्रकाश ज्वाला’ को परिचय बनाएका हुन् ।

ज्वाला व्यक्तिगत स्वार्थलाई महत्त्व नदिने र स्वार्थ नहुँदा विद्रोह गर्न गाह्रो नहुने बताउँदै आएका छन् । पद र प्रतिष्ठालाई त्यागेर पनि जनता र आन्दोलनलाई धोका नदिएको दाबी गर्ने ज्वाला राजनीतिक ‘रिस्क’ लिन सक्ने नेतामा पर्छन् ।