खराब मौसमका कारण पूर्व मुख्यमन्त्री शाही लगायतको उम्मेदवारी प्रतिनिधि मार्फत दर्ता

सुर्खेत । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशको निर्वाचनको लागि कर्णाली प्रदेशमा साविक कर्णालीबाट प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाही लगायत माओवादी केन्द्रका उम्मेदवारहरुले प्रदेश निर्वाचन आयोगको कार्यालय सुर्खेतबाट आफ्नो पार्टीका प्रतिनिधि मार्फत उम्मेदवारी दर्ता गराएका छन् ।

लगातार बर्षाको कारण निर्वाचन आयोगले तोकिएको समय भित्र सम्बन्धित जिल्ला निर्वाचन आयोगको कार्यालय पुग्न नसकिने भएकोले नेकपा (माओवादी केन्द्र)बाट प्रदेश सभा र प्रतिनिधि सभाका उम्मेदवारहरुले प्रदेश निर्वाचन आयोगको कार्यालयबाट आफ्नो प्रतिनिधि मार्फत उम्मेदवारी दर्ता गराएको कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवं कालिकोट जिल्लाबाट प्रतिनिधि सभाका उम्मेदवार रहेका महेन्द्र बहादुर शाहीले जानकारी दिए ।

पूर्व मुख्यमन्त्री शाहीका अनुसार यसरी उम्मेदवारी दर्ता गराउने माओवादी केन्द्रका उम्मेदवारहरुमा हुम्ला प्रतिनिधि सभाका उम्मेदवार छिरिङ डङ्गोल लामा, जुम्ला प्रतिनिधि सभाका उम्मेदवार गोमा गौतम् (कुवँर), हुम्ला प्रदेश सभा ‘क’ का उम्मेदवार रनसिङ परियार, मुगु प्रदेश सभा ‘ख’का उम्मेदवार मंगल शाही, कालिकोट प्रदेश सभा ‘क’का उम्मेदवार दुर्ग बहादुर रावत, डोल्पा प्रदेश सभा ‘ख’का उम्मेदवार विर बहादुर शाही रहेका छन् ।

लगातार बर्षाका कारण कर्णाली राजमार्गमा पहिरोका कारण सडक अस्तव्यस्त रहेको छ ।