सुर्खेत । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि भएका कर्णाली प्रदेशका विभिन्न इभेन्टका चार जना घाइते खेलाडीहरु मध्ये तीन जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने डोल्पाका तेक्वान्दो खेलाडी विमल रोकाया गण्डकी मेडिकल कलेजमा उपचाररत छन् ।
कर्णाली प्रदेश खेलकुद विकास परिषदका अनुसार उपचाररत रोकाया पनि अबको केहि दिन भित्र डिस्चार्ज हुने तयारीमा रहेका छन् । तेक्वान्दो खेलाडी रोकायाको पछिल्लो अबस्था सामान्य रहेको र अब एक दुई दिन भित्र अस्पतालबाट डिक्चार्ज हुने तयाारीमा रहेको उनका आफन्त भरत पराजुलीले जानकारी दिए ।
विभिन्न इभेन्टबाट कर्णाली प्रदेशबाट सहभागि भएका खेलाडी मध्ये रग्वी खेलाडी डोल्पाका प्रकाश रोकाया खेल शुरु भन्दा अघिल्लो दिन खेल तयारीको क्रममा चिप्लिएर घाइते भएको र उपचार पछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिसकेको रग्वी खेलका प्रशिक्षक देवराज संज्यालले जानकारी दिए ।
कवड्डी खेल तर्फका खेलाडी रेखा वि.क. सल्यान र मुस्कान मल्ल जुम्ला पनि घाइते भएका थिए उनिहरु दुवै जना अस्पतालबाट डिस्चार्ज भइसकेको कवड्डी खेलका व्यवस्थापक ग्रिमे टमट्टाले जानकारी दिए ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि भएर विरामी परेका सम्पूर्ण खेलाडीहरुको उपचारको जिम्मा राष्ट्रिय खेलकुद परिषदले लिने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । उनका अनुसार नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि भएका खेलाडीहरु मध्ये विरामी खेलाडीहरु केहि डिस्चार्ज भइसकेको र केहि हुने क्रममा रहेका छन् । खेलाडीहरुको इन्सुरेन्स भएकाले उपचारमा कुनै पनि समस्या नहुने सदस्य सचिव घिसिङको भनाइ छ ।
शुरुका दिनमा राष्ट्रिय खेलकुद परिषदले उपचारको लागि व्यवस्थापन गरेको अस्पतालको बारेमा जानकारी नहुदा कर्णाली प्रदेशका खेलाडीहरुलाई राखेपले व्यवस्थापन गरेको भन्दा बाहिरको अस्पतालहरुमा उपचार गराउदा हुन आएको सबै खर्चको व्यवस्थापन कर्णाली प्रदेश खेलकुद विकास परिषदले जिम्मेवारी लिएको कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले जानकारी दिए । खेलका क्रममा घाइते भएका र विरामी परेका खेलाडीहरुको उपचारमा कुनै पनि कमि हुने नदिने उनले बताए ।
झिल्को खबर । ६ कार्तिक २०७९, आईतवार ११:१८