सन्दीप, दिपेन्द्र र रोहितले खेलेका दुवै टोली पराजित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने सम्मिलित भेनकुभर नाइट्सले क्यानडामा जारी ग्लोबल टि–ट्वान्टीमा लगातार तेस्रो हार बेहोरेको छ । लगातार तेस्रो हार बेहोर्ने क्रममा भेनकुभर मोन्ट्रियल टाइगर्स विरुद्ध १० रनले पराजित भएको हो ।

जितका लागि १ सय ४५ रनको लक्ष्य पछ्याएको भेनकुभरका लागि दीपेन्द्र र सन्दीप अन्तिममा अविजित रहे । दीपेन्द्रले १५ बलमा ३ चौका र १ छक्का सहित ३० रन जोडे । सन्दीपले भने २ बलमा १ रन बनाए । त्यसबाहेक रिजा हेन्ड्रीक्सले ३४ तथा डवेन प्रिटोरियसले ३० रन जोडे । हर्श ठाकेरले १८ रन बनाए । मोन्ट्रियलका आयान अफजल खानले ३ तथा कलिम सनाले २ विकेट लिए । एक विकेट अज्मतुल्लाह ओमारजाईको नाममा रह्यो । त्यसअघि टस जितेर पहिला बलिङ गरेको भेनकुभरले मोन्ट्रियल टाइगर्सलाई निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४४ रनमा रोकेको हो । भेनकुभरका लागि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले १ विकेट लिए ।

सन्दीपले ४ ओभरमा २४ रन खर्चिए । उनले दिलप्रित बाज्वालाई बोल्ड आउट गरेका थिए । यस्तै नेपाली अल राउण्डर दीपेन्द्र सिंह ऐरीले भने बलिङ गर्ने अवसर पाएनन् । यस्तै भेनकुभरका लागि मोहम्मद आमिर र ड्वेन प्रिटोरियसले समान २ र जेरेमी गोर्डनले १ विकेट लिए ।

मोन्ट्रियलका लागि कोर्विन बोस्च्सले २५ बलमा सर्वाधिक ३५ रन बनाए । यस्तै बाज्वाले २२ बलमा सर्वाधिक ३३ रन बनाएका थिए भने अज्मतुल्लाह ओमारजाईले २७ रन बनाए । टिम साइफर्ट र आयान अफजल खानले समान १६ रन बनाए भने कप्तान क्रिस लिनले १० रन जोडे ।भेनकुभरको अर्को खेल बिहीबार हुनेछ । उता नेपाली कप्तान रोहित दाहाल सम्मिलित टोरन्टो नेशनल्सले पनि हार बेहोरेको छ । रोहितको टोली सुर्रेसँग ८० रनले पराजित भयो । रोहितले २५ बल खेल्दा १० रनको योगदान दिएपनि उत्कृष्ठ प्रदर्शन गर्न सकेनन् ।