मातृत्वको मायाले कर्णाली रोजेका डाक्टर किशोर

सुर्खेत । नेपालमा संघीयता आउनु भन्दा पहिले नेपालको सबै भन्दा कान्छो जिल्ला थियो कालिकोट । कालिकोटको दोभानमा बगिरहेको कर्णाली र यहाँका जीवनहरु उस्तै उस्तै हुन् । दुख,पीडा, हाँसो, आँशु, सबै बग्छन् तर रोकिदैनन् । कष्ठले बाँचिरहेका यहाँका जीवनहरुका सपनाहरु भने लोप लाग्दा अनि बान्कीले भरिएका हुन्छन् । मानौकी सपनाका रहरहरुले ऐठन बनि छोडेर गएका विपनाका काहिली लाग्दा बास्तविक भोगाईहरु कहिलेकाँही जीवन यात्रासँग संयोगले मिल्न जान्छन् । कक्षा ७ मा पढ्दा स्कुलमा नै जनसेवा क्लिनिकको स्थापना गरेर आफुलाई डाक्टरको परिकल्पना गर्ने गरेका एक बालक किशोर विष्ट एस.एल.सी. पछिको पढाई पुरा गर्न काठमाडौं हुँइकिए ।

२०५९ मा एस.एल.सी दिएका किशोर कालिकोट जिल्ला प्रथम भए । एस.एल.सी. पछिको उच्च शिक्षा के पढ्ने भन्नेमा दोधारमा रहेनन् । कक्षा प्रथम हुनेहरु नै विज्ञान विषय पढ्छन् भन्ने थाँहा भएकाले उनले विज्ञान विषयमा काठमाडौँको सान इन्टरनेशनल कलेजबाट (छात्रवृत्ति पाएर) प्लस टु उत्तिर्ण गरे ।

किशोरले जव विज्ञान विषयमा प्लस टु उत्तिर्ण गरे अनि कक्षा ७ मा पढ्ने बेलाको सपनाले फेरी सताउन थाल्यो । पखाला, लुतोको औषधिहरु स्वास्थ्य संस्थाबाट जम्मा पारेर गाउँमा वितरण गर्दै हिडेका किशोरलाई स्कुले जीवनमा स्थापना गरेको जनसेवा क्लिनिकले गर्दा मेडिकल विषय पढ्नको लागि धेरै सोच्नु परेको थिएन ।

चाहाना एम.बि.बि.एस. पढ्ने थियोे घरको आर्थिक अवस्थाले त्यो बिषय पढाउन सक्ने अबस्था थिएन । त्यसको लागि उनका अगाडी एउटै विलल्प थियो । त्यो हो नेपाल सरकार शिक्षा मन्त्रालयले प्रदान गर्ने छात्रवृत्तिमा जसरी पनि नाम निकाल्ने !

‘पढाई प्रतिको आफ्नो लगनशिलताले परिवारमा पनि कुनै दवाब थिएन, ‘उनी भन्छन्,’ ‘उच्च शिक्षाको लागि काठमाडौं पसिसके पछि परिवारको चाहाना डाक्टर,इन्जिनियर र पाइलट मध्ये एक भइदियोस् भन्ने थियो तर पढाईमा मलाई गाइड गर्ने मान्छे भने कोहि थिएन । यता गाउँको इच्छा भने हेड मास्टर थियो,।’

नेपाल सरकार शिक्षा मन्त्रालयले प्रदान गर्ने छात्रवृत्तिमा नाम निकालेर एम.बि.बि.एस.उत्तिर्ण भइसकेपछि चाहेको ठाउँमा काम गर्ने ठुलो अबसर हुदाहुदै पनि डाक्टर किशोरले कर्णालीको माटो रोजेर फेरी पनि कर्णालीमै फर्किए र तत्कालिन मध्यपश्चिम क्षेत्रिय अस्पतालमा काम गर्न शुरु गरे । उनको सेवाको यात्रा यत्तिमै रोकिएन दुई बर्षे सेवा करारको यात्रालाई उनले आफ्नो जन्म भूमि कालिकोटको लागि केहि समय छुट्याए र बाँकी रहेको सेवा करारको समय कालिकोटमा बिताए ।

एम.बि.बि.एस.उत्तिर्ण पछि कालिकोटमा सेवा करारमा रहदा नै लोक सेवा परिक्षाबाट उत्तिर्ण भएर सरकारी सेवामा प्रदेश गरेका डाक्टर विष्टले सरकारी सेवा प्रवेश गरेको केहि समयमा नै राष्ट्रिय ट्रमा सेन्टरबाट हाडजोर्नी विशेषज्ञ प्राप्त गरी पुन कर्णालीमै फर्किए ।

‘जुन बेला म कालिकोटमा गएका थिए त्यो बेला कालिकोटमा डाक्टर भेटिदैन थिए त्यहि भएर जन्म भूमीमा मैले छात्रवृत्ति करार सेवा गर्ने निर्णय गरेको हुँ, ‘उनले भने,’मैले यहि माटोमा टेकेर आफ्नो सीपको पहिलो सेवा गर्ने सपना बोकेको थिए,।’

कर्णाली प्रदेश रंगशालामा काम गर्ने क्रममा घाइते भएका विरामीलाई कोठामै पुगेर भेट्दै डाक्टर विष्ट

लामो समय सुर्खेत मेहलकुना अस्पतालमा सुपरिन्टेन्डेटको भूमिकामा काम गरिसकेका डाक्टर किशोरलाई अहिले पनि मेहलकुना अस्पताल प्रतिको माया उत्तिकै लाग्छ । उनि भन्छन् ‘मैले मेहेलकुना अस्पतालमा धेरै योगदान गरेको छु त्याहाँको व्यवस्थापन पक्ष र प्रशासनिक पक्षलाई स्थानीय समुदायसँग मिलेर जिरो लेवलबाट शुरु गरेर अहिले त सुर्खेतको भ्याली भन्दा बाहिरको अस्पतालहरुमा नमुनाको रुपमा चिनिन्छ ।’

काठमाडौं र कर्णालीमा धेरै आकाश पातलको फरक छ ‘डाक्टर किशोर भन्छन्, ‘टिमबद्ध हिसावले काम गर्नको लागि काठमाडौं ठिक छ तर कर्णालीमा काम गर्नुको मज्जा नै बेक्लै छ । यहाँ आफ्नो ठाउँ हो सबैले चिन्छन् काम गर्दै जादा आफ्ना लागि भन्दा आफन्तको लागि काम गरे जस्तो महसुस हुन्छ त्यसैले मातृत्वको माया नै छुट्टै हुने रहेछ ।’

नेपालमा सरकारी अस्पतालहरुमा गरिबको लागि पुर्ण निशुल्क भन्ने कहि कतै नभएको भन्दै डाक्टर विष्ट भन्छन् कर्णाली प्रदेशमा हाडजार्नि पुनस्थापना केन्द्रको आवश्यक रहेको छ । आउने भविश्यमा सकेसम्म म यसको लागि प्रयास गर्ने छु ।

बेला बेलामा कालिकोटमा गएर सेवा दिने मन छ

नेपालमा अहिले तीन तहका सरकार बनिसकेका छन् । तीन तहका सरकार मध्ये स्वास्थ्य क्षेत्रमा सबैभन्दा ध्यान दिने भनेको स्थानीय सरकारले हो । तर स्थानीय सरकारले स्वास्थ्य सम्बन्धि कुनै पनि शिक्षा नदिनाले कालिकोटको स्वास्थ्य अबस्था परिबर्तन हुन नसकेकोमा डाक्टर किशोरलाई दुःख लागेको छ । प्रत्येक स्थानीय तहले स्वास्थ्य शाखा प्रमुख स्वास्थ्य र समाज बुझेको राख्नु पर्छ उनी भन्छन् ।

स्थानीय तहका स्वास्थ्य संस्थाहरु अहिले पनि राम्रोसँग संचालनमा आउन सकेका छैनन् । दक्ष जनशक्तिको अभावले गर्दा ती स्वास्थ्य संस्थाहरु संचालनमा कठिनाई भएको उनको बुझाई छ । आफु हाडजार्नी विशेषज्ञ भएको हुनाले आफ्नो जन्म भूमि कालिकोटमा गएर बेला बेलामा सेवा दिने ठुलो धोको रहेको भन्दै डाक्टर विष्टले अबका दिनमा त्यसलाई निरन्तरता दिने बताए ।