संघीयता कर्णालीका लागि आएको हो यसको रक्षा गरौं विरोध होइन – नेता विष्ट

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का नेता एवं कर्णाली प्रदेश सभा सदस्य विन्दमान विष्टले संघीयताको विरोध भन्दा यसको रक्षा गर्नु पर्ने बताएका छन् ।

कर्णाली प्रदेश सभामा मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत माग्दै नेता विष्टले यस्तो बताएका हुन् ।

‘कर्णाली संघीयता अघि शिक्षा, स्वास्थ्य र विकासमा सबैभन्दा पछि परेको प्रदेश थियो यहाँको गरिबी ५२ प्रतिशतबाट घटेर ३८ प्रतिशत पुग्यो यो संघीयताको कारण हो,’ ‘नेता विष्टले भने,’ ‘अब आउने दिनमा पनि सबै राजनिति दलहरुले यसको विरोध भन्दा अझ स्वयत्त प्रदेश कसरी बनाउन सकिन्छ त्यस तर्फ लाग्नु पर्छ ।’

कर्णालीमा आन्तरिक श्रोतको अभाव रहेको भन्दै उनले यहाँको आन्तरिक श्रोतलाई कसरी बलियो बनाउन सकिन्छ त्यस तर्फ सबै राजनिति दललाई लाग्न आग्रह गरे ।

संघीय सरकारले कर्णालीको लागि दिने बजेट निश्चित नभएका कारण कर्णालीमा विकासका कार्यक्रम अगाडी बढाउन निकै चुनौति रहेकाले अब आउने दिनमा संघीयतालाई बलियो बनाई पहिला कर्णालीको रोग, भोक, अशिक्षा, र गरिबीसँग एक जुट भएर लड्ने बेला आएको बताए ।