रास्कोटका दुई विद्यार्थीलाई समाजसेवी बमको जनही ५० हजार सहयोग

सुर्खेत । कालिकोट रास्कोट नगरपालिकामा वडा नं. ५ निवासी निर्माण व्यवसायी एबं युवा नेता मानब बमले २०७८ सालको एसइइ परिक्षामा नगरपालिका भित्र उत्कृष्ट नतिजा ल्याउने दुई विद्यार्थीलाई जनही ५०÷५० हजार सहयोग गरेका छन् ।

२०७८ सालको एसइइ परिक्षाको नतिजा प्रकाशित भए लगत्तै उनले नगरपालिका भित्रका सामुदायिक विद्यालयबाट उत्कृष्ट हुने दुई विद्यार्थीलाई आफ्नो तर्फबाट जनही ५० हजार सहयोग गर्ने घोषणा गरेका थिए ।

नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाको सिफारिस अनुसार जनजागृति माविका ३.७० जिपिए ल्याउने छात्र कमलराज बराल र कालिाशिल्ला माविकी ३.५५ जिपिए ल्याउने छात्रा एलिजा महतारालाई जनही ५० हजारको चेक हस्तान्तरण गरिएको हो ।

सोमवार शुरु भएको नगरपालिका स्तरको राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको अबसर पारेर कालासिल्ला मावि सिरुपाटा वडा नं. ६ मा बमका बुबा पूर्व शिक्षक पृथीबहादुर बमको हातबाट उक्त रकमको चेक हस्तान्तरण गरिएको छ ।

निर्माण व्यवसायी बमले यो भन्दा अगाडी पनि विभिन्न समाजिक काममा सहयोग गर्दै आएका थिए । कोरोना कालको बेला रास्कोट नगरपालिकाको विपत कोषमा रकम जम्मा गर्ने देखि कोभिडका विरामीहरुलाई खानाको व्यवस्था मिलाएका थिए । उनि कालिकोट जिल्लामा निर्माण व्यवसायीसँगै युवा नेताको रुपमा कालिकोट जिल्लामा स्थापित छन् ।

उक्त रकम हस्तान्तरण कार्यक्रममा रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही लगायतको उपस्थिति रहेको थियो ।

युवा व्यवसायी बमकै पहलमा नबिल बैँकले दुवै बिद्यार्थीलाई लगानी उद्यमशिलतासम्बन्धि ६ महिने तालिमका दिने भएको छ ।