नक्कली भुटानी शरणार्थी प्रकरण ः प्रतीक थापा भन्छन् ’अनुसन्धानलाई सहयोग गर्छु’

काठमाडौँ — नक्कली भुटानी शर्णार्थी बनाएर ठगी गर्ने प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाले अनुसन्धान प्रक्रियालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो नाम मुछिएको विषयमा न्यायालयप्रति आस्था रहेको र अनुसन्धान प्रक्रियालाई सघाउने जनाएका छन् ।

थापाले आफू उक्त प्रकरणमा संलग्न नरहेको भन्दै आफूमाथि गलत अभिप्रायसाथ आरोप लगाइएको बताएका छन् । ’मेरो संलग्नता नरहेको शरणार्थी प्रकरणमा पनि झुटो आरोपसहित मेरो नाम जोडिएकोप्रति खेद प्रकट गर्दै खण्डन गर्दछु । तर, संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरूप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले लेखेका छन् ।

आफूमाथि तथ्यहीन आरोप लागेको भन्दै थापाले राजनीतिक प्रतिशोधका लागि आरोप लगाइएको भनेका छन् ।