विकास निर्माणका ७ ‘आधार’ तय गर्दै पचालझरना गाउँपालिकाले ल्यायो ३९ करोड ८२ लाखको बजेट

सुर्खेत । कालिकोट पचालझरना गाउँपालिकाले विकास निर्माणका ७ ‘आधार’ तय गर्दै आर्थिक बर्ष २०८०÷०८१ को लागि ३९ करोड ८२ लाख ३३ हजार ७ सय ९३ रुपैंयाको बजेट ल्याएको छ ।

गाउँपालिका अध्यक्ष देवराज शाही ‘अग्नी’ले आर्थिक बर्ष २०८०÷०८१ को लागि निति तथा कार्यक्रम प्रस्तुत गरे पश्चात पालिका उपाध्यक्ष अल्किना बम ‘बबिता’ले ३९ करोड ८२ लाख ३३ हजार ७ सय ९३ रुपैंयाको बजेट प्रस्तुत गरेकी थिइन् ।

गाउँपालिका अध्यक्ष देवराज शाही ‘अग्नी’ले आर्थिक बर्ष २०८०÷०८१ का लागि प्रस्तावित बार्षिक निति तथा कार्यक्रममा गाउँपालिका समृद्व बनाउन विकासको लागि शिक्षा,स्वास्थ्य, पर्यटन, रोजगारी, कृषि तथा पशुपालन, सहकारी विकास र पूर्वाधार, समृद्व पचाल झरनाका ७ ‘आधार’ प्रस्तुत गरेका छन् ।

अध्यक्ष शाहीले निति तथा कार्यक्रममा गाउँपालिका सरकारले विकासका लागि तय गरेको ७ ‘आधार’ शिक्षा,स्वास्थ्य, पर्यटन, रोजगारी, कृषि तथा पशुपालन, सहकारी विकास र पूर्वाधारलाई गुणस्तरीय रुपमा लागु गर्ने गरी तयारी थाल्ने बताए ।

गाउँपालिका भित्र जथाभावि डोजर चलाई सडक खन्ने कामलाई निरुत्साहित गर्दै मापदण्ड अनुरुप गुणस्तरीय दिगो र भरपर्दाे सडक संरचना निर्माणमा जोड दिने र २०८४ सम्म गाउँपालि भित्र एक घर एक धारा कार्यक्रमलाई पूर्णरुपमा कार्यन्वयनमा ल्याउने निति तथा कार्यक्रममा उल्लेख गरेका छन् ।

कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई एम.वि.वि.एस.को छात्रवृद्वि

कक्षा १२ को परिक्षामा उत्कृष्ट नतिजा ल्याउने गाउँपालिका भित्रका विद्यार्थीलाई प्राविधिक धारको शिक्षा अर्थात एम.वि.वि.एस.को लागि छात्रबृद्वि उपलब्ध गराउने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यसको लागि कार्यविधि बनाएर कार्यन्वयन गरिने अध्यक्ष शाहीले उल्लेख गरेका छन् ।

यस्तै गाउँपालिका भित्र गुणस्तरीय नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई प्रोत्साहन गर्न सीई परिक्षामा उत्कृष्ट विद्याय, प्राधानाध्यापक र विद्यार्थीलाई शिक्षा दिवसको अबसरमा सम्मान समेत गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।