क्रिकेट संघ कर्णालीको अध्यक्षमा खड्का निर्विरोध

सुर्खेत । नेपाल क्रिकेट संघ कर्णाली प्रदेशको अध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन भएका छन् । क्यानले कर्णालीलाई मान्यता दिएसँगै कर्णालीमा पहिलो पटक पदाधिकारी चयन गरिएको हो ।

संघको उपाध्यक्षमा कालिकोटका खड्कजंग शाही, सचिवमा सुर्खेतका श्रीधर केसी र कोषाध्यक्षमा सुर्खेतका सूर्य थापा चयन भएका छन् । पदाधिकारीसहित १३ सदस्यीय कार्यसमितिमा सदस्यहरुमा बालकुमार नकाल, कुलप्रसाद ओली (रुकुम), सविन हमाल, बुलन्द बाबु सेजुवाल (सल्यान), दमनराज शाही (कालिकोट), प्रकाश भुषाल (सुर्खेत), पवनकुमार थापा, समुन्द्र शाही, मनोज थापा (दैलेख) रहेका छन् ।

सुर्खेतमा विं.स.२०५४÷५५ सालबाट क्रिकेट संघ प्रस्ताव गरेपनि करिव एक दशकपछि २०६२÷६३ मा क्यानले मान्यता दिएको हो । दुई दशक सुर्खेत क्रिकेट संघको नेतृत्व सम्हालेका खड्काले २०७४ सालदेखि सुर्खेत क्रिकेट संघको नेतृत्व श्रीधर केसीले हस्तान्तरण गरेका थिए । संघको कर्णाली संयोजक रहेका खड्का हाल नेपाल क्रिकेट संघको केन्द्रीय सदस्य छन् ।

कर्णालीलाई लुम्बिनीको मातहतमा राखेर सुर्खेतमा क्रिक्रेटका गतिविधिहरु सञ्चालन गरिदै आएको थियो । तर कर्णालीलाई छुट्टै मान्यता दिनुपर्ने अडान राख्दै आएका खड्काले लामो प्रयासपछि क्यानले मान्यता दिएको हो ।

खड्काको पहलमा कालिकोट, दैलेख, रुकुमपश्चिम र सल्यानमा नेपाल क्रिकेट संघको जिल्ला शाखा विस्तार गरिएको थियो । क्रिकेटलाई कर्णालीमा स्थापित गर्नमा उहाँ (खड्का) को भूमिका नै देखिएकाले पहिलो अध्यक्षका रुपमा उहाँलाई नै सर्वसम्मत नेतृत्व चयन गरिएको एक पदाधिकारीले बताए ।