१६ जना चिकित्सकले सिट बुक गरे तर टिकट नकाटेका कारण मुगुमै छाडेर उडेको थियो समिट एयर

सुर्खेत । मंगलबार मुगुको ताल्चा विमानस्थलबाट नेपालगञ्ज आउने जहाजका यात्रु र जहाज कम्पनीबीचको विवादका कारण १६ जना यात्रुले एक साथ यात्रा रद्द गरे ।

समिट एयरको यो जहाजमा जुम्लाबाट रारा घुम्न गएका १६ जना चिकित्सकले मंगलबारका लागि १६ सिट बुक गरेको तर टिकट नकाटिएको अवस्था रहेको समिट एयरका प्रमुख कार्यकारी अधिकृत मनोज कार्कीले जानकारी दिए ।

सिट बुक गरे पनि टिकट नकाटिएको कारण सोमबार ५ वटा भीआईपी सिट यो उडानका लागि काटिएको उनले जानकारी दिए । मंगलबार ५ जना भीआईपी यात्रु र १३ जना चिकित्सकलाई समिटले पहिलो उडानबाट नेपालगञ्ज ल्याउन खोजेको थियो ।

तर, चिकित्सकले १६ जनाकै समूह एउटै उडानमा जानु पर्ने अडान राखेपछि अन्य यात्रुलाई लिएर समिटको जहाज उड्नु परेको कार्कीको भनाइ छ ।

‘उहाँहरु हाम्रै उडानबाट मुगु जानु भएको हो, आजका लागि टिकट बुकिङ मात्र गर्नु भएको थियो, टिकट काट्नु भएको थिएन, सिट बुक गरिएको भए पनि टिकट नकाटिएको कारण ५ वटा भीआईपी टिकट सोमबार नै काटिएको थियो,’ कार्कीले भने, पहिलो उडानमा ५ जना छुटे पनि हामी आजै अर्को उडानबाट थप यात्रुलाई नेपालगञ्ज ल्याउने योजनामा थियौं ।’ चिकित्सकको अर्घेल्याइँले नै उनीहरु मुगुमा बसेको कार्कीले बताए ।

कार्कीका अनुसार आजै अर्को उडान मुगुमा हुँदैछ । समिटमा आउन नसकेका यात्रुलाई लिन नेपाल एयरलाइन्सको जहाज पठाउने घोषणा फेसबुकमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गरेका छन् । तर, नेपाल एयरलाइन्सको जहाजले १३ जना मात्र यात्रु बोक्न सक्छ । एउटै समूहमा मात्र हिंड्ने अडान दिएका चिकित्सकको संख्या १६ छ । सोहीकारण पनि समिटले अर्को उडान गर्नुपर्ने अवस्था हुन सक्ने कार्कीले बताए ।

माओवादी केन्द्रका नेता मातृका यादव, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश अध्यक्ष विमला केसी, धर्मराज शाही र प्रकाशबहादुर शाहीका लागि सोमबार भीआईपी टिकट काटिएको थियो ।

सोमबार नै जहाजको टिकट व्यवस्था गरी सोही अनुसार नेपालगञ्ज आएको हौ – नेता शाही

नेकपा (माओवादी केन्द्र)का नेता एवं कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाही ।

माओवादी केन्द्रका नेता तथा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ताल्चा विमानस्थलको घटनालाई चिकित्सकहरूले अतिरञ्जित बनाउन खोजेको आरोप लगाएका छन् ।
नेता शाहीले भने आफूहरूले चिकित्सकहरूको टिकट नखोसेको दाबी गरेका छन्। उनले सोमबार नै जहाजको टिकटको व्यवस्था गरेको र सोही अनुसार नेपालगञ्ज आएको बताए ।
उनले विमानस्थलमा जहाजको टिकटबारे विवाद उत्पन्न भएपछि मिलाउने कोसिस गरिएको भएपनि चिकित्सकहरूले अटेरी गरेर विवाद चर्काएको अरोप लगाए।

यस्तो छ, नेता शाहीको भनाइ ।

टिकट कसको खोसिएको हो? उनीहरूलाई नै थाहा होला। खास कुरा के हो? उनीहरूको विषयमा हामीलाई कुनै जानकारी छैन।

आज बिहानको सेडुल फ्लाइट नै होइन। बिहान ७ बजे प्लेन नै जाँदैन। हिजो म आफैंले चेयरमेनसँग कुरा गरेर भोलि नै म डोल्पा जानुपर्ने भयो भनेर भन्दा उहाँहरूले हुन्छ म बिहानै पठाउँछु झरेर आउनुहोला भन्नुभएको थियो।

त्यहाँबाट आउनुस् भन्ने खबर आएपछि बेलुकी नै गयौँ उहाँहरू पनि आउनु भएको रहेछ। उहाँहरूले हिजो साँझबाट नै निहुँ खोज्न थाल्नुभएको थियो। हामी बस्ने होटेलमा आएर नेता बस्ने होटेल होर? हामी डाक्टर बस्ने हो भनेर थर्काएर साँझबाटै निहुँ खोजिरहेका थिए। ती कुरा हामीलाई थाहा भएपछि अर्को होटेलमा गएर बस्यौँ।

बिहान पनि १६ जना हुनुहुँदो रहेछ। तपाईंहरू १५ जना प्लेनमा चढ्नु, हाम्रो तीन जना नगइ–नहुने भयो। बाँकी पिएहरू गाडीमा आउँछन्, एक जना हाम्रो गाडीमा पठाऊ, नभए पछि सुत्केरीका लागि हेलिकप्तर आउँदैछ सुर्खेतबाट त्यसैमा पठाउने व्यवस्था गरौँला भनेर भनियो। तर, उहाँहरु भए सबै जान्छौँ नभए एकजना पनि जाँदैनौँ भनेर भिडियो खिच्न थाल्नुभयो।

डाक्टर भएपछि आफ्नो हैसियतमा बस्नुपर्ने हो, क्याम्पसका विद्यार्थी र केटाकेटीजस्तो गर्ने होइन।

हामीलाई जबजस्ती गरे भन्न हुँदैन। बोडिङ पास नभएको वा एयरलाइन्सले अनुमति नदिएको भए पो जबर्जस्ती छिरेको भन्ने हुन्छ। सबै मिलाएर गएको हामी जबर्जस्ती कसरी भयो? बेकारको कुरा गरेका छन्।

अझ एक जनालाई सुत्केरीसँग आउनु भनेरसम्म व्यवस्थापन गर्न खोजेका हौँ। हामी तीन जना जसरी पनि पठाउछौँ भनेकै हो। जहाँज गएर पठाउछौँ आउनुस् भन्दा पनि जबर्जस्ती गरे, एकदम पुर्वाग्रही छन्, हामीप्रति। माओवादीलाई कसरी बदनाम गर्न सकिनछ भनेर निहुँ खोजेका हुन्। टिकट खोस्ने भन्न नै हुँदैन। एयरलान्सले कसलाई पठाउने के गर्ने अर्को कुरा हो। उहाँहरूको लागि आएको जहाज हो? भनेर कर्मचारीसँग समेत निहुँ खोजे।

रारा मज्जाले घुमदै हिँडेका छन्, त्यहाँ गएर कहाँ के उपचार गरे? जुम्लाबाट फर्किनुपर्ने हो घुमेर आए। आपत्ति होइन।

आझै व्यवस्था गर्छौ भन्दा पनि जबर्जस्ती गरेर भनेर भनेका छन्। अझ मिडियाबाजी गरेका छन्, नियत ठिक भएन। अब सरी हजुर माफ पाऊँ गल्ती भयो भन्दै थिए। मैले विद्वानले गर्ने यस्तै हो? भनेँ ।