सुर्खेत । १४ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्डको अन्तिम दिन बिहीबार एथलेटिक्स बिधामा कर्णालीले पहिलो पटक जुनियर राष्ट्रिय कीर्तिमान स्वर्ण पदक जित्न सफल भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित १४ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा एथलेटिक्स तर्फ छात्रा ४ गुणा ४ सय मिटर रिलेमा कर्णालीकी भावना फर्साल, सरिता खड्का, हिमाली शाही र कृष्णा राना सम्मिलित टोलीले जुनियर राष्ट्रिय कीर्तिमानी स्वर्ण पदक जितेका हुन् ।
उक्त जुनियर राष्ट्रिय कीर्तिमान कर्णालीको टोलीले निर्धारित दूरी ४ मिनेट १७.२ सेकेन्डमा पार गरेर यस अघि लुम्बिनीका अरुणा रिजाल, पूर्णिमा खड्का, पूजा चौधरी र करुणा रिजालको नाममा रहेको ४ मिनेट २३.८ सेकेन्डको कीर्तिमान तोडेका हुन् ।
जुनियरतर्फ कर्णाली प्रदेशले यो पहिलो पटक राष्ट्रिय कीर्तिमानी स्वर्ण पदक जितेको हो ।
यस्तै एथलेटिक्स तर्फ कर्णाली प्रदेशकी कल्पना बुढाले कास्य पदक जितिन् भने छात्र ३ हजार मिटर दौडमा कर्णाली प्रदेशका अजय विकले स्वर्ण पदक जिते । उनले दूरी पूरा गर्न ९ मिनेट २४.२ सेकेन्ड समय लगाए थिए ।
दोश्रो दिन कर्णालीकी सरिता खड्काले छात्रा ८ सय मिटर दौड २ मिनेट २८.५ सेकेन्डमा पूरा गर्दै कीर्तिमान रचेकी थिइन् ।
बिहीबारै भएको सटपुटको छात्रमा कर्णालीका बालकुमार नकाल पहिलो भए । उनले १२.९५ मिटर टाढा फाले । सुदूरपश्चिमका गणेश विक दोश्रो तथा लुम्बिनीका सुराज थापा तेश्रो स्थानमा रहे ।
झिल्को खबर । ६ बैशाख २०८१, बिहीबार २०:२७