दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आत्म विश्वासका साथ सफल पार्छौःमुख्यमन्त्री कडेँल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेँलले कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल पार्न कर्णाली प्रदेश सरकार आत्म विश्वासका साथ लाग्ने बताएका छन् ।

प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा प्रदेश गौरबको आयोजना निर्माणाधिन प्रदेश रंगशालामा भित्र शुक्रवारबाट सुरु भएको एन्फा महिला लिग–२०२४ छनोट फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री कडेँलले यस्तो बताएका हुन् ।

कर्णाली प्रदेशले पछिल्लो समय खेलकुद क्षेत्रमा राम्रो प्रगति गरेको भन्दै मुख्यमन्त्री कडेँलले कर्णाली प्रदेश सरकार खेल क्षेत्रमा सहयोग गर्न तयार रहेको बताए । ‘कर्णालीमा अहिले प्रयाप्त खेल पूर्वाधार छैनन् तर यहाँ राष्ट्रिय स्तरका प्रतियोगिताहरु हुँदै आएका छन्, ‘मुख्यमन्त्री कडेँलले भने,’ ‘आउने दिनमा खेल क्षेत्रको लागि म सरकार प्रमुखको हैसियतले सहयोग गर्छु तर सम्बद्ध सरोकारवालाहरुले यसलाई नयाँ तरिकाले विकास गर्नु पर्छ ।’

कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोग र अखिल नेपाल फुटबल संघको आयोजनामा जिल्ला फुटबल संघको समन्वयमा वीरेन्द्रनगर सुर्खेतस्थित प्रदेश सरकारको निर्माणाधिन रंगशालामा आजबाट सुरु भएको एन्फा महिला लिग–२०२४ छनोट फुटबल प्रतियोगिता यहि बैशाख २० गतेसम्म संचालन हुने छ ।

कर्णालीमा पहिलो पटक हुन थालेको एन्फा महिला लिग शीर्ष तहको ऐतिहासिक प्रतियोगिता हो । आयोजकका अनुसार पहिलो चरणमा छनोट हुनेहरु दोस्रो चरणका लागि छनोट हुनेछन् । छनोट प्रतियोगिताको खेल भएकोले यसमा पुरस्कार राशी भने नहुने आयोजकले बताएको छ ।

शीर्ष ३ टोली एन्फा महिला लिग–२०२४ को दोस्रो चरणमा प्रवेश गर्ने र दोस्रो चरणमा प्रवेश गर्ने टोलीले आर्मी फुटबल क्बल, सशस्त्र फुटबल क्लब र पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । अहिले सातवटै प्रदेशको सहभागिता रहेको छ ।