प्रदेश अस्पतालमा पक्षघातका बिरामी बढे

सुर्खेत — कर्णाली प्रदेश प्रदेशमा पक्षघातका बिरामी बढ्दै पाइएको छ । प्रदेश अस्पताल कालागाउँमा पछिल्लो समयमा पक्षघातका बिरामीहरुको संख्या बढेको स्वास्थ्यकर्मीहरु बताउँछन् । २०७९÷८० मा २ सय ५५ जना पक्षघातका बिरामी अस्पताल भर्ना भएका थिए भने ०८०÷८१ को पहिलो ६ महिनामा १ सय ५५ जना बिरामी आएका थिए ।

कर्णाली प्रदेश अस्पतालका जनरल फिजिसियन डा.केएन पौडेलले पछिल्ला वर्षको तुलनामा कर्णालीमा पक्षघातका बिरामी बढ्ढो क्रममा रहेको बताए । ‘सही समयमा सही उपचार नपाएका कारण पक्षघातले पनि बिरामीको अंक बढाउँदै छ,’ उनले भने, ‘बिरामी भएर शरीर नै नचल्ने भएपछि अस्पताल आउनुहुन्छ ।’ पछिल्लो सयममा बालबालिकादेखि ५० वर्ष कटेकासम्मलाई पक्षघात देखा परेको छ । हात नचल्ने, आधा मुख बांगो हुने, शरीरै नै नचल्ने बिरामी देखा परेका छन् । अस्पतालमा विभिन्न विशेषज्ञ डाक्टरलगायत स्वास्थ्यकर्मीलाई पक्षघातका बिरामी अस्पताल आए कसरी पहिचान गर्ने र उपचारलगायत प्रशिक्षण दिँदै डा. पौडेलले समयमा उपचार नपाए अस्पतालमा आएका बिरामी जटिल अवस्थामा पुग्ने बताए ।

विगत चार वर्षयता जीआईजेटको आर्थिक सहयोगमा नेपाल स्टोप प्रोजेक्टले औषधि, स्वास्थ्य सामग्री प्रदेश अस्पताललाई सहयोग गर्दै आएको छ ।