१० औं राष्ट्रिय खेलकुद तयारीःपूर्व मन्त्री शाहीले रोकेको बजेट नवनियुक्त मन्त्री भण्डारीले पहल गर्ने

सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मंसिरमा हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक बजेटको पहल गर्ने बताएका छन् ।

आइतवार कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्री पदको पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले आगामी मंसिरमा आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालय र संघीय सरकारसँग सहकार्य गरेर प्रतियोगिता गर्न आवश्यक बजेट उपलब्ध गराउने गरी उनले पहिलो निर्णयमा हस्ताक्षर गरेका हुन् ।

‘बजेट सुनिश्चतासँगै तोकिएकै समयमा दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने छ,’ आइतबार पदभार ग्रहण गरेलगत्तै मन्त्री भण्डारीले भने, ‘रंगशाला निर्माणमा प्रदेशले बजेटमा सहयोग गरेको थियो । अब प्रतियोगिता सम्पन्न गर्न संघीय सरकारले बजेट व्यवस्थापन गर्नु पर्छ ।’

भण्डारी नेपाली काँग्रेसको तर्फबाट सामाजिक विकास मन्त्रीमा सिफारिस भएका हुन् ।

यता कर्णाली प्रदेश खेलकुद विकास परिषदले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्व तयारीका लागि आवश्यक बजेट माग गरे पनि नेकपा (माओवादी केन्द्र)को तर्फबाट तत्कालिन सामाजिक विकास मन्त्री बनेका बीर बहादुर शाहीले बजेटको व्यवस्थापन गरेका थिएनन् । आ.व. २०८१÷०८२ को बजेट निर्माणको बेला कर्णाली प्रदेश खेलकुद विकास परिषदले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्व तयारीको लागि विभिन्न शिर्षकमा बजेट माग गरे पनि बजेट आभावको कारण देखाउदै मन्त्री शाहीले खेलकुदको लागि उचित बजेट व्यवस्थापन नगरेको खेल सम्बद्ध सरोकारवालाहरुले बताउने गरेका छन् ।

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीको लागि पूर्व मन्त्री शाहीले रोकेको बजेट व्यवस्थापनको लागि नवनियुक्त मन्त्री घनश्याम भण्डारीले आफ्नो पदभार ग्रहणको पहिलो निर्णय नै कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयको समन्वयमा अपुग बजेट व्यवस्थापन गर्ने बताएका हुन् ।