कर्णालीका मुख्यमन्त्रीको जनसम्पर्क विज्ञमा हरिमाया र प्रेस विज्ञमा प्रतिक नियुक्त

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले जनसम्पर्क र प्रेस सल्लाहकार विज्ञ नियुक्त गरेका छन् । मुख्यमन्त्री शर्माले जनसम्पर्क सल्लाहकारमा सुर्खेतकी हरिमाया शर्मा र प्रेस सल्लाहकारमा सल्यानका प्रतिक‘इच्छुक’ इच्छुकलाई नियुक्त गरेका हुन् । जनसम्पर्कमा नियुक्त हरिमाया वीरेन्द्रनगर नगरपालिका–१० की हुन भने प्रेस सल्लाहकारमा नियुक्त प्रतिक दार्मा गाउँपालिका– २ सल्यानका हुन् ।

मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा मंगलबार बसेको बैठकले विभूषण सिफारिस पदक सम्बन्धमा बनेको विधेयक मस्यौदा तर्जुमा गर्नका लागि सैद्धान्तिक सहमति दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका मन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता कृष्ण जिसीले जानकारी दिए ।

विभूषण तथा पदक वितरणका लागि प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले चालु आर्थिक वर्षमा वार्षिक स्वीकृत कार्यक्रममा बजेट नै विनियोजन गरेको छ ।

मन्त्री जिसीकाअनुसार द्वन्द्व पीडित तथा घाइतेहरुको उपचार र २०७५ मा बनेको प्रदेश नगर र गाउँ सभा कानून निर्माण प्रक्रिया सम्बन्धी बनेको ऐन बुधबारदेखि लागु गर्नेगरी निर्णय गरिएको छ । यो ऐन यसअघि नै पारित गरेपनि कार्यान्वयन हुन सकेको थिएन् ।

यस्तै बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको मातहतमा रहेका साविक घरेलु तथा साना उद्योग कार्यालयमा कार्यरत करारका कर्मचारीहरूको म्याद थप गरिएको छ ।

सोही मन्त्रालयका दुइ वटा नियमावली पनि मन्त्री परिषदको बैठकले स्वीकृत गरेको छ । बैठकले निर्णय गरेका नियमावलीमध्य प्रदेश पर्यटन र प्रदेश वन २०८० रहेको मन्त्री जिसीले जानकारी दिए ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा लगानी सम्मेलन गर्न पूर्व तयारीका लागि प्रदेश योजना आयोगका तीन जना पदाधिकारीको नेतृत्वमा अलग्गै कार्यदल गठन गरिएको छ ।