उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नी छोरीलाई देशको उत्तराधिकारीका रूपमा तयार गरिरहेको र यसका लागि आवश्यक अभ्यास गराइरहेको दक्षिण कोरियाको जासुस निकायले भर्खरै आफ्ना सांसदहरूलाई जानकारी गरायो । किम जु एई नामकी ती छोरीलाई अहिले देश र देशवासीमाझ द्रुत रूपमा स्थापित गर्ने काम भइरहेको दक्षिण कोरियाली गुप्तचर एजेन्सी नेसनल इन्टलिजेन्स सर्भिस(एनआइएस)ले गत जुलाई २९ मा देशका सांसदलाई बताएको थियो । उत्तर कोरियाली सरकारी मिडियाले जु–एईलाई ‘सम्माननीय छोरी’ र ‘प्यारी नानी’का रूपमा सम्बोधन गर्ने गरेको छ । किशोर अवस्थामा प्रवेश गर्न लागेकी जु एईको जन्म सन् २०१२ सन् २०१३ मा भएको अनुमान गरिएको छ ।
सन् १९४० को दशकमा कम्युनिस्ट शासन स्थापना भएदेखि त्यहाँ किम परिवारको वंशीय शासन छ । उत्तर कोरियाका संस्थापक नेता किम इल सुङ उनको मृत्यु नहुदाँसम्म सन् १९९४ सम्म शासन गरे । त्यसपछि उनका छोरा किम जोङ इलले सन् २०११ सम्म शासन गरे । इलका छोरा हालका शासन किम जोङ उनले सन् २०१२ देखि देशका सर्वोच्च नेता छन् । ‘प्योङयाङले किम जु एईलाई उत्तराधिकारीका रूपमा तयार गर्नका लागि आवश्यक सीप सिकाउँदै छ । यसले पनि उनी सम्भावित उत्तराधिकारी हुन् भन्ने संकेत गर्छ,’ दक्षिण कोरियाली सांसद ली सिओङ क्वे उनले एनआइएसले आयोजना गरेको सेसनपछि पत्रकारहरूसँग कुरा गर्ने क्रममा बताइन् ।
सन् २०२२ नोभेम्बरमा आफ्नो बुबाको हात समातेर एक आणविक अस्त्रयुक्त क्षेप्यास्त्रको निरीक्षणमा किम जु एई पहिलोपटक सार्वजनिक भएकी थिइन् । त्यसवेलादेखि, उनी पटक–पटक पिताका साथ हतियार परीक्षण, सरकारी समारोह र खेलकुद कार्यक्रममा देखिँदै आएकी छिन् ।
त्यस्तै, एनआइएसले सांसदहरूलाई ‘किम जोङ उनको तौल बढेर १४० केजी पुगेकाले उनी ‘मुटुसम्बन्धी रोगको उच्च जोखिम’मा रहेको’ पनि जानकारी गरायो । अत्यधिक संख्यामा चुरोट पिउने किममा ३० वर्षपछिको सुरुवातदेखि नै उच्च रक्तचाप र मधुमेहका लक्षण देखापरेको लीले एनआइएसलाई उद्धृत गर्दै भनिन् । उत्तर कोरियाली सरकारले किम जु एईलाई उत्तराधिकारीको रूपमा आमउत्तर कोरियालीहरूले कस्तो प्रतिक्रिया दिइरहेको भन्ने कुरामा पनि ध्यान दिइरहेको एनआइएसले सांसदहरूलाई बतायो ।
यद्यपि, आधिकारिक उत्तराधिकारी घोषणा नगरिसकेकाले जु एईका अन्य दाजुभाइ पनि सम्भावित विकल्पको रूपमा देखापर्न सक्ने सम्भावनालाई एनआइएसले अस्वीकार गरेको छैन । सन् २०२२ नोभेम्बरमा आफ्नो बुबाको हात समातेर एक आणविक अस्त्रयुक्त क्षेप्यास्त्रको निरीक्षणमा उ किम जु एई पहिलोपटक सार्वजनिक गरिएकी थिइन् । त्यसवेलादेखि, उनी पटक–पटक उनका पिताका साथ हतियार परीक्षण, सरकारी समारोह र खेलकुद कार्यक्रममा पनि देखापरेकी छिन् । दक्षिण कोरियाको जासुसी एजेन्सीले जु एईको उमेर करिब ११ वर्ष भएको अनुमान गरेको छ । र, उनी किम र उनकी श्रीमती रि सोल जुका तीन सन्तानमध्ये दोस्रो भएको पनि एजेन्सीले विश्वास गरेको छ ।
जु एई गत वर्ष फेब्रुअरीमा सेनालाई सम्मान गर्ने एक महŒवपूर्ण भोजमा आफ्ना आमा–बुबासँगै सामेल हुनुलाई पनि उनलाई सम्भावित उत्तराधिकारीको बलियो उम्मेदवार बनाएको धेरैले लख काटे । पछि देशका शीर्ष सैन्य सदस्यहरूको फोटो सेसनमा जु एई अगाडि र केन्द्रमा उभिएकी देखिएकी थिइन् । उत्तर कोरियाली नेताका सन्तान पहिले यति सानै उमेरमा यसरी देखिँदैनथे । त्यस कार्याक्रममा जु एईको उपस्थितिले उत्तर कोरियामा, नेताका छोराछोरीहरूलाई राज्य संयन्त्रको हिस्सा नभएसम्म जनताको नजरबाट टाढा राख्ने परम्परा तोड्यो । किम जोङ उन भर्खर ४० वर्षको उमेर भएकाले उनी दशकौँसम्म सत्तामा रहन सक्छन् । तथापि, उच्च तौल र अधिक धूम्रपानले उनी विभिन्न स्वास्थ्य समस्यासँग लडिरहेका विभिन्न स्रोतले बताउँछन् । त्यसैले त्यहाँ उत्तराधिकारी चिन्ताको विषय रहेको बताइन्छ ।
ब्लुमबर्ग एजेन्सी फ्रान्स प्रेस
झिल्को खबर । २८ श्रावण २०८१, सोमबार १२:३२