अभिनयमा ‘कमब्याक’ गर्न फिटनेसमा व्यस्त प्रियंका, घटाइन् २३ किलो तौल

काठमाडौं । अभिनेत्री प्रियंका कार्की ‘फिटनेस कन्सस’ लाग्छिन् । खानपानमा ध्यान दिने उनी सुत्केरी भएपछि मोटाएकी थिइन् । त्यसबेला उनको तौल ९४ किलो पुगेको थियो ।

तौललाई सुत्केरी हुनुअघिकै अवस्थामा लैजान प्रियंकाको दैनिकी अहिले वर्कआउटमा बितिरहेको छ । दुई महिनादेखि उनी सक्रियपूर्वक जिम, जुम्बा र किक(बक्सिङजस्ता व्यायाममा सक्रिय छिन् ।

उनको अहिलेको तौल ७१ किलो छ । दुई महिनामा उनले २३ किलो तौल घटाइन् । छोरी आयंकालाई जन्माएको नौ महिनाको यो जर्नीमा प्रियंकाले अहिले भने सक्रियतापूर्वक वर्कआउट गरिरहेकी छन् ।

‘म उचाइ र शरीरको आकार अनुसारको तौल बनाउन उपयुक्त अप्रोच लिएर लागिरहेकी छु,’ व्यायामबारेको भ्लगमा प्रियंका भन्छिन् । वर्कआउटमा प्रियंकालाई पति तथा अभिनेता आयुष्मानले पनि सघाइरहेका छन् ।

साथै, प्रियंका छायांकन सुरु हुन लागेको सिरिज ‘साहु बा’मा समेत व्यस्त हुँदैछिन् । यो सिरिजमा उनी प्रहरी इन्सपेक्टरको भूमिकामा प्रस्तुत हुँदैछिन् ।