सुर्खेत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको प्रेरणा सयौँ वर्षसम्म रहने बताएका छन् । ३०औँ जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । ‘जनयुद्ध नेपालको इतिहासमा सबैभन्दा ठुलो युगान्तकारी परिवर्तन गराउने परिघटना थियो,’ उनले भने, ‘यसले आज मात्र होइन, सयौँ वर्षसम्म पनि प्रेरणा दिइरहनेछ । यसलाई कसैले मेटाउन सम्भव छैन, जसले मेटाउने प्रयास गर्छ, ऊ खरानी हुनेछ ।’
जनयुद्ध दिवस राष्ट्रिय दिवस नै भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले शान्ति प्रक्रिया नटुंग्याएको कारण देखाएर अदालतले स्थगन गरे पनि यो राष्ट्रिय दिवस भएको र यसलाई राष्ट्रिय दिवसको रूपमा स्थापित गरेरै छाड्ने दृढता व्यक्त गरे । ‘हामी अहिले संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गत सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा छौँ । यसको मुख्य प्रेरणा जनयुद्ध नै हो,’ उनले भने, ‘हामी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा र विकास गरेर संघीय लोकतान्त्रिक गणतन्त्र हुँदै समाजवादको आधार तयार गर्ने यात्रामा छौँ।’
जनयुद्ध र जनआन्दोलनको बलमा बनेको संविधानमा स्थापित मान्यतालाई एकथरी तत्त्वले अस्वीकार गर्ने र जनताका अधिकार कुण्ठित गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै उनले यी सबै प्रयास असफल पार्न आफूहरूले निरन्तर अग्रगमनका लागि संघर्ष गरिरहेको बताए ।
‘अहिले पनि दुई वर्ग र प्रवृत्तिका बिचमा संघर्ष चलिरहेको छ । हामीले धेरै वर्ष पहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा पुगे पनि प्रतिक्रियावादीहरूले जनताको गणतन्त्र हुन नदिने प्रयास हुनेछ भनेर आकलन गरेका थियौँ, आज त्यही स्थिति बनेको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘एकथरी तत्त्व संविधानका अग्रगामी प्रावधान उल्ट्याउने प्रयासमा लागिरहेका छन्, तर हामी यसलाई समाजवादी गणतन्त्रमा लैजान चाहन्छौँ । यो संघर्ष चलिरहेको छ ।’
विगतमा भएका कतिपय कमजोरीको आत्मसमीक्षा गर्दै पार्टी फेरि पनि यो देशका आमश्रमजीवी वर्ग, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिमलगायत उत्पीडित समुदाय र क्षेत्रको एजेन्डामा फर्केको उल्लेख गर्दै उनले पछिल्लो समय सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा गरिएको ऐतिहासिक थालनीलाई जनताले सकारात्मक रूपमा ग्रहण गरिरहेको बताए ।
आफ्नो वर्ग र समुदायतर्फ फर्कँदै जनताका एजेन्डालाई दृढतापूर्वक अघि बढाउने र जनतासँगको एकतालाई बलियो बनाउने संकल्प गरेको उल्लेख गर्दै उनले यसले पनि जनतामा सकारात्मक प्रभाव पर्दै गएको बताए ।
अध्यक्ष प्रचण्डले जनयुद्धको तयारी, सञ्चालन, शान्ति प्रक्रिया, संविधान निर्माण र गणतन्त्र घोषणाको ऐतिहासिक नेतृत्व गर्ने अवसर पाउनु आफ्नाका लागि गर्वको विषय भएको उल्लेख गर्दै क्रान्तिकारी शक्तिलाई अझ बलियो बनाउन जनयुद्धका सहयात्रीलगायत सबै कम्युनिस्ट क्रान्तिकारीहरूलाई एकताको अपिल गरे । क्रान्तिकारी शक्तिलाई बलियो बनाएर मात्रै प्रतिक्रियावादीका षड्यन्त्र विफल बनाउने र जनताले देखेको क्रान्तिको सपना पूरा गर्न सकिने उल्लेख गर्दै उनले क्रान्तिकारी शक्तिहरूलाई एकता र ध्रुवीकरणका लागि आह्वान गरे ।
राजनीति घोषणाको तहमा युगान्तकारी उपलब्धि प्राप्त गरे पनि जनताले प्रत्यक्ष देख्ने र भोग्ने गरी जनताको जीवन बदल्न नसकिएको उल्लेख गर्दै उनले तलैदेखि समाजवादी क्रान्तिको जग कसरी बसाउन सकिन्छ भनेर नयाँ संकल्प गर्ने वेला आएको बताए ।
झिल्को खबर । १ फाल्गुन २०८१, बिहीबार १३:०९