भेरी नदि किनारमा तीन दिनपछि बेपत्ता बालकको शव फेला

सुर्खेत । रुकुम पश्चिममा एक बालकको शव फेला परेको छ । जिल्लाको आठबिसकोट नगरपालिका ११ फारुला निवासी नरेश बिकको छोरा १० वर्षीय यज्ञ बिकको शव सोमबार दिउँसो फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आठबिसकोट नगरपालिका १४ छोटेतरास्थित भेरीनदि किनारमा यज्ञको शव फेला परेको हो ।

गत शुक्रबार भारत जाने क्रममा घरबाट हिडेका नरेश, उहाँको श्रीमती र छोरा यज्ञ वडा नम्वर १४ स्थित दिदिभिनाजुको घरमा बसेको बेला बालक हराएका थिए ।

बुवा र आमाको साथमा घरबाट हिडेका यज्ञ हराएपछि खोज्ने क्रममा भेरी नदि किनारमा चप्पल फेला परेको भन्दै वडा नम्वर १४ का वडा अध्यक्ष हुकुम बहादुर पुनले प्रहरीलाई खबर गर्नुभएको थियो ।

खोज तलास गर्ने क्रममा तीन दिनपछि आज बालकको शव फेला परेको हो । स्थानीयले नदि किनारमा बालकको शव फेला परेको खबर गरेपश्चात इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक गणेश खनालको कमाण्डमा एक प्रहरी टोली घटनास्थल गएको बताईएको छ ।