यु–१६ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता पहिलो पटक कर्णालीमा हुँदै

 फोटोः झिल्को खबर ।

सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक यु–१६ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता हुने भएको छ ।

१९ जेठ देखि ३१ जेठसम्म वीरेन्द्रनगर स्थित कालिञ्चोक क्रिकेट मैदानमा संचालन हुँने उक्त प्रतियोगितामा सात वटै प्रदेशको सहभागिता रहने आयोजकले जनाएको छ ।

सह–आयोजकको रुपमा रहेको कर्णाली प्रदेश क्रिकेट संघले बुधवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको पूर्व तयारीका बारेमा जानकारी गराएको थियो ।

प्रतियोगिता लिग चरणमा खेलाइने र जम्मा २१ वटा खेल हुँने नेपाल क्रिकेट संघका केन्द्रीय कोषध्यक्ष एवं कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर खड्काले बताए ।

पछिल्लो समय कर्णाली प्रदेशले क्रिकेट खेलमा ठुलो उपलब्धी हासिल गरेको भन्दै खड्काले राष्ट्रिय स्तरको यो प्रतियोगिताले कर्णालीको आर्थिक गतिविधिका साथै क्रिकेट खेलको विकास र विस्तारमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रतियोगितामा ८० देखि ९० लाखसम्म खर्च हुँने र यसको सबै खर्च नेपाल क्रिकेट संघले व्यहोर्ने छ । सात वटै प्रदेशको सहभागिता रहने यो प्रतियोगितामा कर्णालीको कप्तानी भने विपिन शर्माले गर्ने छन् । यो पटकको यु–१६ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि कर्णालीले जित्नेमा आफु विश्वस्त भएको कर्णाली प्रदेश क्रिकेट संघले जनाएको छ ।