वीरेन्द्रनगरमा लागुऔषधसहित एक महिला पक्राउ

सुर्खेत । वीरेन्द्रनगरमा लागुऔषध (अफिम) सहित एकजना महिला पक्राउ परेकी छन् । सोमबार राति विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जाजरकोटको जुनिचाँदे गाउँपालिका–१ की घर भई हाल वीरेन्द्रनगर–१२ नारायण टोल बस्ने २८ वर्षीया शर्मिला कुमारी बस्नेत रहेकी छन् ।

प्रहरीले उनी बसेको कोठा र शौचालय खानतलासी गर्दा चरेशजस्तो देखिने कालो डल्लो पदार्थ १७ ग्राम ३६० मिलिग्राम, अफिमजस्तो देखिने भिजेको कालो गिलो पदार्थ ५ ग्राम ७२० मिलिग्राम र अफिमको बीउजस्तो देखिने सेतो दाना ५ किलोग्राम ३७० ग्राम बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मोहनजंग बुढाथोकीले जानकारी दिए ।

उनकाअनुसार उनलाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसुरमा अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको छ ।