

हिन्दु महिलाको विशेष पर्व तीज आज धार्मिक आस्था, सांस्कृतिक निरन्तरता र नारी–सामूहिकताको प्रतीकका रूपमा मनाइन्छ। यद्यपि यसको मौलिक स्वरूप पछिल्ला वर्षहरूमा आंशिक ओझेलमा परेर भड्किलो प्रदर्शन, उपभोग संस्कृतिको दबाब र बाजारीकरणको प्रभावले विकृत रूप लिन थालेको देखिन्छ।
तीजको आरम्भिक इतिहास हेर्दा यो पर्व नारी–आत्मसमर्पण, भक्ति र आशाको अविचल प्रतीकका रूपमा विकसित भएको पाइन्छ। पार्वतीले भगवान् शिवलाई पति पाउन कठिन व्रत साधनाका साथ निरन्तर तपस्या गरेको धार्मिक आख्यान यस पर्वको मूल स्रोत हो। त्यसै स्मरणमा आज पनि महिलाहरू उपवास बस्दै, शिव–पार्वतीको आराधना गर्दै, दाम्पत्य जीवनको सुख–समृद्धि र पारिवारिक सौहार्दका लागि प्रार्थना गर्छन्।
धार्मिक दृष्टिले तीज व्रतको सन्देश आत्मसंयम, श्रद्धा र आध्यात्मिक समर्पणमा आधारित छ। सामाजिक दृष्टिले यसले महिलाहरूलाई साझा जमघट, दुःख–पीडाको आदान–प्रदान, गीत–संगीतमार्फत समाजप्रति सन्देश दिने अवसर दिलाउँछ। यस अर्थमा तीज केवल पर्व मात्र नभई नारीको आत्मअभिव्यक्तिको माध्यम हो।
तर आधुनिक समाजले यस पर्वलाई जुन रूप दिइरहेको छ, त्यसले अनेक प्रश्नहरू खडा गरेको छ। व्रत बस्ने परम्परा भन्दा पनि दार खाने प्रचलन बढी महत्त्वपूर्ण ठहरिन थालेको छ। पूजा–आराधना भन्दा पनि नाचगान र भोज–भतेरमा ध्यान केन्द्रित भइरहेको छ। गीतहरू पनि अब सामाजिक चेतना वा नारी–दुःखलाई व्यक्त गर्ने माध्यम नभई, व्यापारिक लाभ र सतही मनोरञ्जनका साधन बनेका छन्। यसरी तीज आस्थाको पर्व नभई प्रायः फेशन र भोजको पर्व जस्तो देखिन थालेको छ।
सांस्कृतिकविद्हरू भन्छन्, “तीज नारी ऐक्यबद्धताको सहज अवसर हो, तर यसलाई बजारले उपभोग्य वस्तुमा परिणत गरिदिएको छ।” वास्तवमा तीज आउनासाथ राजधानीका पसलहरू रातो सारी, गहना, मेहन्दी र सौन्दर्य सामग्रीले भरिन थाल्छन्। विज्ञापन र बजार प्रचारले महिलालाई ‘उपभोगकर्ताको रूपमा’ देख्न थालेको छ, जसले पर्वको आन्तरिक आत्मा नै ओझेल पारेको छ।
ग्रामीण भेगमा अझै पनि महिलाहरू समूहमा भेला भएर परम्परागत भजन गाउने, निराहार व्रत बस्ने, शिव–पार्वतीको पूजा गर्ने परिपाटी चलिरहेको छ। तर शहरी क्षेत्रको तीज भने फरक चित्र प्रस्तुत गर्छ – महँगो होटलमा भोज, मिडिया–निर्मित भड्किला गीतमा नाचगान, महँगो गहना र वस्त्रमा प्रतिस्पर्धा। यसले तीजलाई नारीको साझा पीडाभन्दा पनि हाम्रो सामाजिक हैसियत प्रदर्शन गर्ने मंच मा परिणत गरिदिएको छ।
समाजशास्त्रीहरूको भनाइमा, यस्तो विकृतिले दुई खाले दबाब सिर्जना गरेको छ। पहिलो, आर्थिक दबाब – जसले महिलालाई अनावश्यक खर्चमा धकेल्छ। दोस्रो, सामाजिक दबाब – जसले सहभागिता नगरे धर्म वा संस्कृतिप्रति उदासीन भएको आरोप लगाउने परिस्थिति बनाउँछ। यसरी तीज अब स्वतन्त्र नारी–उत्सवभन्दा पनि अनिवार्य सामाजिक दायित्व जस्तो बन्दै गएको छ।
पछिल्ला वर्षहरूमा सिर्जना भएका तीज गीतहरूले पनि आलोचना भोगेका छन्। एकातिर सामाजिक सन्देश दिने, नारी चेतना जगाउने पुरानो परम्परा हराउँदै गएको छ भने अर्कोतिर अश्लीलता र भड्किलो शब्दावलीले तीज गीतको स्तर खस्काएको छ। संस्कृतिविद्हरू भन्छन्, “तीज गीत नारी चेतना र सामाजिक असमानतामाथि प्रहार गर्ने माध्यम थियो, तर अहिलेको तीज गीतले केवल नाचगान र उपभोग संस्कृतिको प्रवद्र्धन मात्र गरेको छ।”
यद्यपि तीजमा देखिएका यी विकृतिहरूका बीचमा यसको धार्मिक मूल्यमान्यता अझै पूर्णरूपमा हराएको छैन। महिलाहरू अझै पनि उपवास गर्छन्, शिव–पार्वतीको पूजाआजा गर्छन्, परिवार र दाम्पत्य जीवनको दीर्घायुसम्बन्धी आस्था राख्छन्। तर यस आस्थाको सहयात्रीको रूपमा अनावश्यक खर्च, सामाजिक प्रतिस्पर्धा र सांस्कृतिक सतहीपनको छायाँ पनि देखिन थालेको छ।
समाधानका उपाय खोज्दा प्रस्ट हुन्छ – तीजलाई यसको मौलिक स्वरूपमै संरक्षित गर्नुपर्छ। धार्मिक आस्थालाई प्राथमिकता दिँदै व्रत र पूजाआजालाई केन्द्रमा राख्नुपर्छ। गीत–संगीतलाई पुनः चेतना र सन्देशमूलक बनाउनुपर्छ। महँगो भोज र भड्किलो खर्चलाई न्यूनतम बनाउनुपर्छ। अनि मात्र तीज फेरि पनि आफ्नो वास्तविक पहिचान – नारी ऐक्यबद्धता, भक्ति र आत्म–अभिव्यक्तिको पर्व – का रूपमा पुनर्जीवित हुनेछ।
नेपालजस्तो बहुजातीय र बहुसांस्कृतिक मुलुकमा तीज केवल हिन्दु महिलाको पर्व मात्र होइन, सामाजिक एकताको सूत्र पनि हो। यसले परम्परा र आधुनिकताको सन्तुलन मिलाउन चुनौती र अवसर दुवै दिन्छ। तर यदि हामी मौलिकता गुमाएर केवल उपभोगको दौडमा रमायौं भने तीज भविष्यमा केवल भड्किलो उत्सव मात्र बनेर रहन सक्नेछ।
अन्ततः भन्न सकिन्छ, तीज महिलाको आत्मबल र धार्मिक श्रद्धाको प्रतीक हो। तर यसमा देखा परेको विकृति सुधार नगरे यसले आफ्नै पवित्रता हराउने खतरा छ। समाज, परिवार र नारी स्वयंले यस पर्वलाई आस्था, संयम र सांस्कृतिक गौरवका साथ मनाउने हो भने मात्र तीज आफ्नो वास्तविक अर्थमा – भक्ति, ऐक्य र आत्मसम्मानको पर्व – का रूपमा सुरक्षित रहनेछ।
लेखकः सुर्खेत होराइजन एकाडेमीका प्रधानाध्यापक हुन् ।

घनश्याम खड्का । १० भाद्र २०८२, मंगलवार ०६:०३