भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा जोड दिँदै चौकुने गाउँपालिका

सुर्खेत । स्थानीय तहमा देखिँदै आएका भ्रष्टाचारका प्रवृत्ति नियन्त्रण गर्दै सुशासन प्रवर्द्धन गर्न चौकुने गाउँपालिकामा पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, ठेक्का व्यवस्थापन र सामुदायिक संस्थामा पारदर्शिता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा भ्रष्टाचारका बदलिँदो स्वरूप, कानुनी प्रावधान र उजुरी प्रक्रियाबारे व्यापक छलफल गरिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतको आयोजनामा सम्पन्न कार्यक्रममा आयोगका अधिकृत विष्णुप्रसाद न्यौपानेले भ्रष्टाचारको परिभाषा, स्वरूप, कानुनी व्यवस्था, उजुरी दर्ता प्रक्रिया, छानबिन तथा निर्णय प्रणाली र संशोधित भ्रष्टाचार निवारण ऐनका प्रावधानबारे प्रष्ट पारेका थिए ।

अन्तरक्रियाका क्रममा सहभागीहरूले जीर्ण ठेक्का व्यवस्थापन, सामुदायिक वनको आर्थिक कारोबारमा पारदर्शिता, अधुरा खानेपानी आयोजना, उपभोक्ता समितिमार्फत हुने कामको गुणस्तर, मेसिनरी उपकरणको प्रयोग, कामदारको ज्याला भुक्तानी तथा व्यक्तिगत राजनीतिक प्रतिशोधका कारण पर्ने उजुरीजस्ता विषयमा आयोगको ध्यानाकर्षण गराए ।

कार्यक्रममा बोल्दै चौकुने गाउँपालिका अध्यक्ष खड्क विकले भ्रष्टाचार सबै क्षेत्रमा व्याप्त रहेको र यसको स्वरूप समयसँगै परिवर्तन हुँदै गएको बताए। भ्रष्टाचार बाल्यकाल र परिवारबाटै सुरु हुने भएकाले समुदायस्तरमै चेतना अभिवृद्धि आवश्यक रहेको उनको भनाइ थियो। सार्वजनिक सम्पत्तिको दुरुपयोगमा संलग्न पदाधिकारीलाई जिम्मेवार बनाइनुपर्नेमा जोड दिँदै उनले सार्वजनिक खरिद ऐन तथा नियमावलीका जटिल प्रावधानका कारण ठेक्का तोड्ने प्रक्रिया कठिन भएको र पटक–पटक हुने नियमावली संशोधनले ठेकेदारलाई पक्षपोषण गरेको गुनासो गरे। साथै उनले जनप्रतिनिधिको क्षमता विकास र स्थानीय तहमा कानुनी परामर्शदाताको आवश्यकता औँल्याए।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतका उपसचिव बुद्धिबहादुर खत्रीले आयोग संविधान र कानूनले दिएको क्षेत्राधिकारभित्र रहेर मात्र काम गर्ने स्पष्ट पारे। प्रमाण संकलन र परीक्षणबाट त्रुटि पुष्टि भएमा मात्र आरोपपत्र दायर गरिने र अन्य अवस्थामा उजुरीको प्रकृति तथा गम्भीरताअनुसार सुझाव, मुल्तबी वा तामेली गरिने जानकारी दिए। भ्रष्टाचार नियन्त्रण आयोगको एक्लो प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै उनले नागरिक, समाज र सरोकारवाला सबैको संयुक्त प्रतिबद्धता अपरिहार्य रहेको बताए।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, शिक्षाकर्मी, सामुदायिक वन उपभोक्ता समिति, सञ्चारकर्मी, बुद्धिजीवी, युवा तथा विद्यार्थीहरूको सहभागिता थियो।