प्रियजनहरु !
जुम्लाको संदेश लिएर
काठमाण्डौ आइपुगेको छु ।
अनुहारको
रंग उडेको
ओठहरु फाटेको
अलिकति तौल घटेको
र , धुलाम्य पहिरन
अहिलेको मेरो हुलिया हो ।
सायद
अब सिङ्गदरवार
आफ्नो प्रवेशद्वारमा
मलाइ शंकालू नजरले केरकार गर्नेछ
र , सोच्नेछ – बाहिर बस्नुपर्ने यो आकृति किन भित्र लम्कदैछ ?
कर्णाली सुतेको छैन
एक रात र एक रत्ति आराम लिएको छैन
विपदले थुपारेको कठिनाइसंग फेरी लड्दैछ
आउदो हिउद झन् कठिनाइको हुने उसलाई राम्रोसंग थाहा छ ।
बर्षादले
बाढी र पैरोले
बगाएका घरधुरीको एकिन संख्या ठुलो छ
काट्नै लागेका सुनौला धान खेत
सेता मरुभूमि जस्ता भएका छन्
काठमाण्डौको समबेदना संदेश
कर्णाली नपुगेको खबर लिएर
म काठमाण्डौ आइपुगेको छु ।
पैरो जान
ठिक्क परेको राजमार्ग
पैरो थाम्न
दिक्क मानिरहेका पहाडहरुको
संदेश लिएर आएको छु ,
असरल्ल परेका
अलपत्र परेका
बिकासका अधुरा योजनाहरुसंग
आखा जुधाउन नसकेर आएको छु।
म कहिलेपनि
नफर्कने गरेर आएको छैन
सुनौला हिमालमा घाम अस्ताउनु अघि नै
घर फर्किने गरेर आएको छु ,
घाउहरु जति नै पाकेपनि
मेरी आमाको अँगालो प्रिय छ
आमाको आखाको नीलो पैरो
र कर्णाली राजमार्गको नूनिलो पैरो
संगसंगै पन्छाउने प्रतिज्ञा लिएर आएको छु।
दुखहरु
हिमा र तिलामा बगाएर
अभावहरु
कान्जिरोवा र पाताराशिमा दफ्नायेर
रारा किनारमा
एक आपसमा मुस्कान बाढिरहेका
प्रिय अनुहारहरुसंग
देउडा गाउँन
मंसिरमा हटारूहरुलाइ
उत्तरतिर उकाल्दै
म छिट्टै आउने छु
म झट्टै आउनेछु।
मनऋषि धिताल । १५ कार्तिक २०७९, मंगलवार १२:४०