भनिन्छ नि यात्रा जति कठिन, त्यति नै यादगार । त्यति नै रोमाञ्चक । सहज बाटोमा सहज तबरले यात्रा गर्नुको के स्वाद ? नाकै ठोकिने उकालोमा तपतप पसिना चुहाउँदै साइकल बोक्दाको आनन्द । कम्मर कम्मरसँग सेताम्य हिउँले ढाकिएको चम्किला चाँदीझै फाँट छिचोल्दै गन्तव्य पुग्नुको बेग्लै सुखानुभूति । कठ्याङ्ग्रिदो चिसोलाई बेप्रवाह हिउँ माथि साइकल कुदाउँदाको फरक अनुभूति कस्तो होला ? ४७०० मिटरको उचाइँमा अवस्थित जगदुल्ला तालसम्मको प्रचारप्रसारका लागि साइकल यात्रामा निस्किएका भाष्कर बस्नेतको अनुभव सुनौं यसपालि ।
फरक फरक याममा घुम्न निस्कदा भिन्न भिन्न स्वाद भेटिन्छन्, यहीँ यर्थाथमा विश्वास गर्ने भाष्कर जगदुल्ला ताल वर्षमा कैयौं पटक पुग्छन् । धार्मिक, आध्यात्मिक र जैविक विविधताका हिसाबले धनी गुमनाम जगदुल्ला तालको प्रचारप्रसारमा लाग्दा उनले कैयौं जोर जुत्ताहरु फाँटे । स्थानीय सरकारदेखि प्रदेश सरकारका विभिन्न कार्यालयमा तालको प्रचारप्रसार र पर्यटकीय गन्तव्य बनाउने योजना बोकेर ढोकाहरु ढकढकाउन पुगे । आफ्नै व्यक्तिगत खर्चमा प्रदेश स्तरीय फोटो प्रदशनीसमेत गरे । कर्णाली प्रदेशका फोक्सुण्डो र रारा तालमा हुलका हुल पर्यटकहरु ओइरिदाँ जगदुल्ला तालमा अझै किन पर्यटकहरु आउँदैनन ? उनलाई सधैं पिरोलिरहने प्रश्न यहीँ हो । यसैले आफ्नै ज्यानको बाजी लगाएर यसपालि उनी दोस्रो पटक साइकलमा जगदुल्ला तालसम्म पुगे । अनि सकुशल फर्के ।
घोडा खच्चर हिँड्ने साघुरो बाटो । कतैकतै त नाकै ठोकिने उकालो । कति ठाउँमा उनलाई साइकलले बोक्थे त कति ठाउँ उनी साइकललार्ई । ‘साइकलसँग प्रेममा बाँधिएपछि त खुसी खोज्न अन्यत्र पुग्नै नपर्ने रहेछ,’ देशका कुनाकन्दरा साइकलमा नापिसकेका उनी पछिल्लो समय डोल्पा सेरोफेरोमा भेटिन्छन् । कलकल बग्ने जगदुल्ला नदीको चिसो पानीले प्यास मेटाउँछन् । थकान मारेर फेरि उकालो उक्लन्छन् । खुट्टा अडिन नसक्ने बाटोमा साइकल ? बाटामा भेटिनेहरु जिब्रो टोक्थे । साइकल त जगदुल्ला ताल पुग्न सक्छ भने हिँडेरै जगदुल्ला किन नपुग्ने ? यहीँ सन्देश पर्यटकहरुमाझ पु¥याउन उनले यो दुश्साहस बोकेका थिए ।
टाङटुङे ओढार । लेक उक्लदा गोठालाहरु रात काट्ने आश्रयस्थल । यार्सा बटुल्न जगदुल्ला सेरोफेरो उक्लदा वर्खामा यहीँ ओढारमा गाउँलेहरु बास बस्छन् । यहीँ ओढारमा पहिलो रात टेन्ट बसालेर उनी रात काट्छन् । अनि बिहानै उकालो लाग्छन् । कतै साइकलमा खुरुरु कुद्छन् । कतै ठेल्छन् त कतै काँधमै बोकेर उकालो लाग्छन् साइकललाई । आँखै अगाडि दखिने लमतन्न टाङटुङे हिमश्रृंखलाले थकान बिर्साइदिन्छ उनको । शरद ऋतुको सुन्दरता नै विशेष लाग्छ उनलाई । बाटैभरि झरेका पातहरु लोभलाग्दा देखिन्छन् । फरक याममा यात्रा गर्दा जीवनका फरक रंगहरुसँग रंगिन प्रेरणा मिल्छ, उनी थप्छन्, ‘केही महिना अघि म, रुकुमकी सृजना वोली र हाम्रो टोली हरिया जंगल र रंगीचंगी फूलहरुका बगैँचासँग प्रेम गास्दै जगदुल्ला उक्लेका थियौं । त्यतिबेला तयार भएको ताल र सेरोफेरोको भिडियोबाट करिब ७ लाख जनाले युट्युबमा जगदुल्ला ताल नियालेका थिए । यसले हामीलाई थप हौसला मिलेको थियो ।’
लाताङ पाटनबाट उकालो लागेपछि उचाइ पनि बढ्दो हो । बाटाभर थुप्रिएका हिउँले संकेत दिन्छ । हिउँमा पनि उनी साइकल गुडाउन छाड्दैनन् । कतै कतै साइकलको पाङ्ग्रा चिप्लिएर उनी पछारिन्छन् तर रमाउँदै फेरि अगाडि बढ्छन् । जगदुल्ला ताल चियाउन र चिनाउन उनी जस्तोसुकै कठिन यात्रा पनि तय गर्न सक्छन् ।
ताल पुग्नु अघिको अन्तिम उकालो । मोबाइलमा उचाई ४६०० मिटर देखाउँदै छ । सास फुल्लेर आउँदो हो, स्या स्या गर्दै उनी साइकल काँधमै बोकेर धिमे गतिमा अघि बढ्छन् तर उचाइ बढेसँगै घुडासम्म रहेको हिउँ कम्मरकम्मरसम्म पुग्छ । जसोतसो उनी काँधमै साइकल बोकेर जगदुल्ला ताल पुग्छन् । वर्खामा निराकार देखिने ताल अहिले हिउँले बर्खो ओढेर बसेको देख्दा उनी मन्त्रमुग्ध भएर सुन्दरतामा हराइजान्छन् । जमेको तालमाथि उनी एक फन्को मस्त साइकल गुडाउँछन् । धीतमरुन्जेल फोटो र दृश्यहरु भिडियोमा कैद गर्छन् अनि झलस्या गोक्यो तालमा विदेशी पर्यटकहरुले स्किङ गरेको सम्झिन्छन्, जगदुल्लामा पनि कुनै दिन विदेशी पर्यटकहरु तालमाथि स्किङमा रमाउँदै कासी डाल्फा हिमाल नियाल्न आउँछन् होला है । साइकल बोकेर हिउँमा चिप्लेटी खेल्दै ओरालो झर्छन् अनि बुन्छन् कैयौं सपनाहरु मनमनै । विदेशीहरु आइस स्केटिङमा रमाइरहेका, तालमाथि मस्त स्किङ गरेर मन्त्रमुग्ध पर्यटकहरु एवं हाइ एल्टिच्युड साइकलिङ प्रतियोगितामा पाउदानी मारिरहेका साइकलिस्टहरु । हजारौं पर्यटकलाई भित्र्याउन सकिने प्रचुर संम्भावनाहरु बोकेको जगदुल्ला सेरोफेरो अझै गुमनाम रहँदा फेरि उनी खिस्रिक्क बन्छन् । तर एकदिन जरुर जगदुल्ला र सेरोफेरोले मुहार फेर्नेमा भने उनी विश्वस्त छन् ।
सन् २०१९ मा १७ जना साइकलिस्टको टोलीलाई नेतृत्व गरेर प्याङ्क बाइक सप काठमाडौंले १५ दिनमा जाजरकोटको राडीबाट फोक्सुण्डो ताल, त्रिपुराकोट, बलंगरा भञ्ज्याङ, जगदुल्ला हुँदै जुम्ला पुगेका थिए । त्यहीँ बेला फेरि फोक्सुण्डो ताल पुगेका उनलाई झलस्या जगदुल्ला तालको सम्झना आएको थियो । हुलम्हुल पर्यटकले भरिएको फोक्सुण्डो अनि गुमनाम जगदुल्ला ताल । त्यहीँ दिनदेखि अहोरात्र जगदुल्ला ताल चिनाउन उनी लागिपरे । यतिका वर्ष आफ्नै गाउँठाउँलाई चिनाउन लागिपर्दा पनि सरकार, संघसंस्था र विभिन्न कार्यालयबाट त्यति उत्साहजनक साथ र सहयोग पाएनन् तर यति सजिलै उनी कहाँ हार्थे र ? उनी हार्न जान्दैनन् । साइकलमा जगदुल्ला ताल र सेरोफेरो चिनाउने उनको अथक प्रयास अझै जारी छ । यसपछाडिको बलियो पिल्लर बनेको छ नेपालकै सबैभन्दा पहिलो साइकल पसल प्याङ्क बाइक सप एवं यसका प्रोपाइटर टिरेक मानन्धर । दुवैलाई उनी सम्झिरहन्छन् ।
जगदुल्ला ताल केवल ताल मात्र हैन, यसबारे इतिहास खोतल्दै उनी थप्छन्, ‘यो आफैंमा एक पवित्र तीर्थ स्थल एवं धार्मिक गन्तव्यस्थल हो । साउन पूर्णिमाका दिन यहाँ तीर्थ भर्न डोल्पा जिल्लाका मात्र नभई विभिन्न जिल्लाका तीर्थालुहरु यहाँसम्म आइपुग्छन् । गाँचेन मेरी राल्वा हिमालको काखैमा अवस्थित यस पवित्र तालबाट बगेको जगदुल्ला नदीले कैयौं भूभागहरु सिञ्चित गरेका छन् । अनि यसैमा आश्रित छन्् कैयौं जगदुल्लाबासीहरु । यतिमात्र नभई यसै सेरोफेरोमा रहेका कैयौं गुफाहरुमा ठूल्ठूला लामा गुरुहरुले ध्यान एवं तपस्या गरेका थिए । यता मानसरोवर कैलाश र जगदुल्ला ताललाई समान रुपले लिने जनविश्वास अझै छ । त्यसैले यहीँ ताल हुँदै माथि लाग्ने बाटोलाई स्वर्ग जाने बाटोका रुपमा मान्छन् ।’
ताल र तालसँग सम्बन्धित यति धेरै जानकारी बटुलिसकेका उनको शैक्षिक पृष्ठभूमि भने सिभिल इन्जिनियरिङ संकाय हो । तीन वर्ष बालाजु इन्जिनियरिङ कलेजमा अध्ययन गरेका उनको योजना पर्यटन विषयमा उच्च शिक्षा हासिल गरेर पर्यटनमा रहेको प्यासनलाई प्रोफेसनमा बदल्ने उनको सपना छ । अनि बुनेका छन्, जगदुल्ला ताल र सेरोफेरो समेटेर बुकलेट र ब्रोसरहरु तयार पार्ने सपना । त्यसपछि नेपाल पर्यटन बोर्ड, टान, ट्रेकिङ कम्पनीहरु एवं विभिन्न पर्यटनसँग आवद्ध संघसंस्थाहरुलाई जगदुल्ला तालसम्म निमन्त्रणा गरेर ताललाई पर्यटकीय गन्तव्यका रुपमा ब्रान्डिङ गर्ने । अनि जगदुल्ला गाउँपालिकाको मात्र नभई सिंगो कर्णाली प्रदेशको मुहार फेर्न सकिने सपना उनी पस्काउँछन् । डोल्पा जिल्लामा लुकेर रहेका कैयौं यस्ता पर्यटकीय गन्तव्यहरुको खोज, अध्ययन र प्रचारप्रसार गर्न सकिए दुर्गम डोल्पा जिल्लाले कोल्टे फेर्नेमा कुनै दुई मत छैन ।
पर्यटकहरुलाई तालसम्म पुग्नका लागि पदयात्राको तालिका गाउँपालिकासँग सहकार्य गरेर तयार पार्दै छन् उनी । से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जसँग अनुमति लिएर ठाउँठाउँमा टि हाउस र होटलहरु सञ्चालनमा ल्याइनुपर्छ । यसमा सबैको सहकार्य र साथ पाइनेमा उनी आशावादी छन् ।
आफू जन्मेको जन्मथलोलाई विश्वभर चिनाउने सपना बोकेर अहोरात्र खटिरहने भाष्करजस्ता युवाहरुका सपनाहरु साकार बनून् । जगदुल्ला ताल र सेरोफेरो कुनै समय विश्व पर्यटन बजारमा नामी गन्तव्य बन्नेमा कुनै दुई मत छैन । अभाव र गरिबीमा पिल्सिएका जगदुल्लाबासीका जनजीवन पनि फेरिनेछ । अनि चिन्नेछ जगदुल्लालाई विश्वले । त्यसदिन कर्णालीभर उनकै बाटो पछ्याउँदै कैयौं भाष्करजस्ता युवाहरु जन्मिसक्नेछन् ।
दिवश गुरुङ । १८ कार्तिक २०७९, शुक्रबार १४:०४