कर्णालीमा पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार सहित सम्मान

सुर्खेत । कर्णाली खेलकुद विकास परिषद्को सिफारिसमा कर्णाली प्रदेश सरकारले कर्णालीबाट प्रतिनिधित्व गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक जित्ने खेलाडीहरुलाई विहिवार एक कार्यक्रमका बीच नगद पुरस्कार सहित सम्मान गरेको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का अध्यक्ष एवं सामाजिक विकास मन्त्री टेकराज पछाईको उपस्थितिमा खेलाडीहरुलाई नगद सहित सम्मान गरिएको हो । परिषद्को पूर्व वत निर्णय अनुसार १२ औं राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाहरु र नौं राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेता खेलाडीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदको सिफारिस अनुसार कर्णाली प्रदेश सरकारले १२ औं राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक विजेता खेलाडीलाई बीस हजार, रजत पदक विजेता खेलाडीलाई पन्द्र हजार र कास्य पदक विजेता खेलाडीलाई दश हजार सहित सम्मान तथा पुरस्कृत गरेको छ ।

त्यस्तै नौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई २ लाख, रजत पदक विजेता खेलाडीलाई १ लाख ५० हजार र कास्य पदक विजेता खेलाडीलाई १ लाख सहित सम्मान तथा पुरस्कृत गरिएको कर्णाली खेलकुद विकास परिषद्ले जनाएको छ ।

पुरस्कृत हुने खेलाडीहरुमा १२ औं राष्ट्रपति रिनङ शिल्ड प्रतियोगितामा ३ स्वर्ण, ७ रजत र ७ कास्य, कवड्डी टिम गेम सहित १६ कास्य पदक विजेता खेलाडीहरुलाई सम्मान गरिएको थियो भने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशको तर्फबाट २ स्वर्ण, ४ रजत र ११ कास्य पदक जित्ने खेलाडीहरुलाई नगद सहित सम्मान गरिएको थियो । सन २०२२ मा संचालन भएका अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा सहभागि भई फुटबल तर्फ रजत पदक जित्न सफल दिपा शाही हुम्ला र स्वर्ण पदक विजेता स्टे«न्थ लिफ्टििङ सुर्खेतकी खगिसरा धर्तिलाई समेत नगद सहित पुरस्कार वितरण गरिएको थियो ।

पुरस्कार तथा सम्मान कार्यक्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का अध्यक्ष एवं सामाजिक विकास मन्त्री टेकराज पछाईले खेलाडीहरु देशको गौरब भएको भन्दै कर्णालीमा खेलकुदलाई प्रथामिकता नदिएको जस्तो भएकोले आगामी दिनमा त्यस्तो हुन नदिने प्रतिबद्धता जनाए । नेपालमा खेलाडीहरुले खेल क्षेत्रमा आफ्नो भविश्य नदेखेकै कारण अन्य पेशा रोज्नु पर्ने बाध्यता रहेको भन्दै उनले कर्णाली प्रदेशमा त्यस्तो नहोस् भन्नको लागि खेलकुदमा लागेर पदक जित्न सके सरकारले पनि हौसला दिन्छ भन्ने कर्णाली प्रदेशबाट उदाहरण दिन खोजेर नै कर्णाली प्रदेश सरकारले पदक विजेता खेलाडीहरुलाई सम्मान स्वरुप पुरस्कार दिएको हो उनले भने,’ ‘यो पुरस्कार र सम्मानले कर्णाली प्रदेशका खेलाडीहरुलाई आगामी दिनमा शसक्त ढंगले खेलमा लाग्नको लागि प्रेरणा दिने छ ।’

आफु विभागिय मन्त्री भएर आइसकेपछि खेलकुद क्षेत्रलाई पहिलो प्रथामिकतामा राखेको भन्दै मन्त्री पछाईले अहिले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कर्णालीमा भौतिक पूर्वाधारको कुनै कमि नहोस् भनेर अहिले प्रदेशमा खेलकुद पूर्वाधारहरु निर्माण भइरहेको बताए ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद् गठन भएदेखि नै प्रदेश खेलकुद विकास परिषद्ले कर्णालीमा खेलकुद विकासको लागि ५ ‘प’ अर्थात पूर्वाधार,पुरस्कार, प्रतियोगिता,प्रशिक्षण र प्रोत्साहनको कार्यनिति लिएको लिएको भन्दै कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले अहिले कर्णाली खेलकुद विकास परिषद्ले २ ‘प’ अर्थात पूर्वाधार, र पुरस्कार कार्यन्वय गरेको बताए । अगामी दिनमा कर्णालीमा खेलाडीहरुको पुरस्कार र प्रोत्साहनको लागि खेलकुद विकास परिषद् निरन्तर लागिरहने भन्दै उनले अब कर्णालीमा खेलको बग्रिकरण गरी प्रशिक्षणलाई प्रथामिकतामा दिने गरी परिषदले योजना बनाइरहेको बताए ।

त्यस्तै कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले कर्णालीमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन लागिरहेको स्मरण गराउदै कर्णालीका लागि यो अबसर र चुनौति दुबै भएको औल्याए । अबसरको सदुपयोग गर्दै चुनौतिलाई सामना गर्नको लागि परिषद्ले योजना बनाइरहेकाले खेलाडीहरु पनि त्यसको लागि जुट्नु पर्ने बेला आएको बताए ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले सिफारिस गरेको विभिन्न पदक विजेता पुरस्कृत खेलाडीहरुको नामावली ।