सुर्खेत । डोल्पा छार्का ताङसोङ गाउँपालिकामा ४ हजार ४ सय ८९ पशु चौपायालाई लम्पी स्किन रोग विरुद्धको खोप सम्पन्न भएको छ ।
गाउँपालिकाको वडा नं १ छार्का भोट, वडा नं २ पुङ्गा र ठिमेर, वडा नं ३ ढाडगाउँ र ढुकोट, वडा नं ५ तेराङ, घेराङ र पिम्री र वडा नं ६ शेरी र मुकोटका याक, झोपा, चौरी र लुलु गाईलाई लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवालले जानकारी दिए ।
सेजुवालका अनुसार उक्त काम असोज ५ देखि १५ गते सम्म चलेको र सो काममा गाउँपालिकाका पशु प्राविधिक सहायक देव नारायण भट्टराईको नेतृत्वमा पशु नायब प्राविधिक सहायक भुज बहादुर बुढा र सहयोगी विष्णुचन्द्र धराला सहितको टोली खटिएको थियो ।
पशुधनीहरुलाई पशु चौंपायाहरुलाई लाग्ने रोगहरुको बारेमा अभिमुखीकरण पनि गरिएको थियो । भ्याक्सिन खरिद र ढुवानी गाउँपालिकाले गरेको र कोल्डचेन व्यवस्थापनको लागि भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाले सहयोग गरेको थियो ।
झिल्को खबर । २२ आश्विन २०८०, सोमबार १५:५१