खेल पूर्वाधार निर्माणमा जोड दिन्छुःमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त सामाजिक विकास मन्त्री वीर बहादुर शाहीले आफ्नो कार्याकालको पहिलो प्रथामिकता खेल पूर्वाधार निर्माणमा जोड दिने बताएका छन् ।

मन्त्रीमा नियुक्त भइसकेपछि पहिलो पटक प्रदेश गौरबको आयोजना निर्माणाधिन प्रदेश रंगशालाको अनुगमन गर्दै मन्त्री शाहीले यस्तो बताएका हुन् । ‘१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना हुँदै छ त्यसको लागि खेल पूर्वाधार कर्णालीमा के कति छन् मैले सबै रिर्पोट मागेको छु, ‘मन्त्री शाहीले भने,’ ‘खेल पूर्वाधार अपुग भएको ठाउँमा बजेटको व्यवस्थापन गरेर खेल पूर्वाधार निर्माण गरी जसरी पनि १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा सम्पन्न गर्ने हो ।’

रंगशाला अनुगमनका क्रममा मन्त्री शाहीले कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोगमा निर्माणाधिन प्रदेश रंगशालामा जारी एन्फा महिला लिग–२०२४ छनोट फुटबल प्रतियोगितामा आज हुने गण्डकी प्रदेश र कर्णाली प्रदेशको खेलमा खेलाडीहरुको हौसलाका लागि फिल्डमै उपस्थित भएर खेलाडीहरुलाई हौसाल प्रदान गरेका थिए ।

आजसम्म कर्णाली प्रदेशले बागमती,मधेश र लुम्बिनी प्रदेशलाई हराउदै जित हासिल गरिसकेको छ भने आज कर्णाली प्रदेशले गण्डकी प्रदेशसँग खेल खेल्दै छ ।