सुर्खेत । कोशीमा एमाले नेतृत्वको सरकारबाट माओवादी केन्द्र शुक्रबार बाहिरिने भएको छ । केन्द्रीय सत्ता गठबन्धनमा आएको फेरबदलपछि एमालेसँगको सहकार्य तोड्न माओवादी बाध्य भएको हो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तत्काल साथ नछाड्न माओवादीलाई भन्दै आएका थिए । तर, केन्द्रीय सत्ता समीकरण नै फेरिइसकेपछि कार्कीको आग्रह निरर्थक बनेको हो ।
सरकारमा माओवादीका एक राज्यमन्त्रीसहित चार जना सामेल थिए । जसमा भौतिक पूर्वाधार विकासमन्त्री गणेश उप्रेती, स्वास्थ्य राजेन्द्र कार्की, पर्यटन वन तथा वातावरण नारायणबहादुर बुर्जा मगर र पर्यटन राज्य मन्त्रीमा बन्दना झाँगड थिए । चारै मन्त्रीले शुक्रबार राजीनामा दिने माओवादी स्रोतले जनाएको छ ।
माओवादी सत्ता बाहिरिएपछि सरकारमा नेपाली कांग्रेस प्रवेश गर्ने छ । कसको नेतृत्वमा सरकारमा जाने भन्नेबारे कांग्रेसभित्र अझै टुंगो लागिसकेको छैन । नेपाली कांग्रेस कोशीका प्रमुख सचेतक गोपाल तामाङले सरकारमा सामेल हुने विषयमा शुक्रबार साँझ एमालेसँग संवाद गर्ने जनाए । ‘छलफलपछि मात्रै सरकारमा जाने नजाने टुंगो लाग्छ’, तामाङले भने ।
झिल्को खबर । ११ श्रावण २०८१, शुक्रबार ११:०५