सुर्खेत । कालिकोट पचालझरना गाउँपालिकाकी उपाध्यक्ष अल्किना बम (वविता) ‘सि लिड्स आइकन अवार्ड’को समग्र समूहमा दोस्रो स्थान र देशभर चौथो स्थान हासिल गरेपछि गाउँपालिकाले औपचारिक कार्यक्रम गरी सोमबार सम्मान गरेको छ ।
गाउँपालिका अध्यक्ष देवराज शाही(अग्नि), प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर बम, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरुले उनलाई खादा लगाएर सम्मान गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट काठमाडौंमा आयोजित समारोहमा अवार्ड प्राप्त गर्दा बमको यो उपलब्धि महिलाको नेतृत्व क्षमताको उदाहरणीय पहिचानका रूपमा प्रस्तुत भएको उल्लेख गरिएको छ।
देशभरका ७५३ स्थानीय तहमध्ये पहिलो चरणमा २७ जनाको छनोट गरिएको थियो। एसएमएस मतका आधारमा तेस्रो चरणको नतिजा पश्चात उपाध्यक्ष बमले दोस्रो स्थान हासिल गरेकी हुन्।
सम्मान कार्यक्रममा उपाध्यक्ष बमले यो उपलब्धि समग्र गाउँपालिकाको सामूहिक प्रयासको परिणाम भएको बताउँदै सबैलाई धन्यवाद व्यक्त गरिन्। साथै, उनले आगामी दिनमा थप सहयोग र समर्थनको अपेक्षा पनि व्यक्त गरिन्।
जनयुद्धका क्रममा लामो समय जेल जीवन बिताएकी बम २०७९ सालमा पचालझरना गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन्।
झिल्को खबर । १५ माघ २०८१, मंगलवार ११:१३