करिब चार दशक अघि बर्दिया मैनापोखरमा छोरीहरु स्कुल जान्थे तर एस.एल.सी.पश्चात आफ्नो उच्च शिक्षा पुरा गर्न धेरै छोरीहरुलाई निकै कठिन हुन्थ्यो । कारण छोरीहरुको लागि सबैभन्दा ठुलो पढाई भनेकै एस.एल.सी.मात्र थियो ।
घरपरिवारले सकुन्तला सापकोटा(गौली)लाई एस.एल.सी. पछि भने पढ्न तिर लगाए । उनका बुवाले धेरै पढ्न नसके पनि सामान्य पढ्न जान्ने अक्षर चिनेका कारण उनलाई बुवाले जति सकिन्छ पढाउने संकल्प गरेका थिए । जसका कारण सकुन्तलाले आफ्नो पढाईलाई आफुले सोचे जस्तो गरी अगाडी बढाउँदै गइन् ।
स्कुल जीवनको सुरुवात गर्दा सकुन्तला करिब ५ बर्षकी थिइन् । घर नजिकैको श्री भगवती संस्कृत माध्यमिक विद्यालय तिलकानामा कक्षा ७ सम्मको अध्ययन पूरा गरेकी सकुन्तलाले विज्ञान विषय पढ्न कक्षा ८ देखि एस.एल.सी.सम्मको अध्ययन श्री सारदा मा.वि. मैनापोखर विद्यालयबाट पूरा गरिन् ।
विज्ञान विषय लिन जब सकुन्तलाले विद्यालय बदलिन् त्यो बेला गाविसबाट विज्ञान विषयमा उत्कृष्ट हुनेलाई पुरुस्कारको व्यवस्था गरिएको थियो । उक्त पुरुस्कार सकुन्तलाले जितिन् । अतिरिक्त क्रियाकलाप गायन,नाच,कविता लेखन, वक्तित्वकला, हाजिरीजवाफ प्रतियोगिता लगायतमा समेत जहिले प्रथम हुँने सकुन्तलालाई विद्यालय, गाउँघर सबैले पढाई मात्र नभएर अतिरिक्त क्रियाकलापमा समेत मन पराउन थाले ।
यसरी पढे नर्सिङ
२०५१ सालमा एस.एल.सी.उत्तिर्ण गरे पश्चात सकुन्तला इन्टर पढ्दै थिइन् । उच्च शिक्षा के पढ्ने भन्नेबारे केहि नसोचेकी सकुन्तलालाई के पढ्दा राम्रो हुन्छ भन्ने केहि थाहा थिएन । आमा,बुवालाई त झनै केहि थाहा थिएन तर छोरीले जे पढे पनि आमा,बुवा पढाई खर्च जुटाउन भने तयार थिए ।
विज्ञान विषयमा कम नम्बर आएका कारण निर्सिङ पढ्नबाट बन्चित भएकी छिमेकी अन्टिले एक दिन उनलाई आफु नर्सिङ पढ्नबाट बन्चित भएको बारे जब बेलिबिस्तार सुनाइन् त्यसपछि सकुन्तलालाई डाक्टर नभए पनि डाक्टर जस्तै विषय पढ्न मन लाग्यो ।
नर्सिङ पढ्नको लागि सकुन्तलाले नेपालगंज नर्सिङ क्याम्पसमा आवेदन खुलेको थाहा पाउने बित्तिकै बर्दियाबाट नर्सिङ पढ्नको लागि प्रवेश परिक्षा दिएकी थिइन् । यता सकुन्तलाको इन्टर पढाई चलिरहेको थियो उता नर्सिङ पढ्नको लागि दिएको प्रवेश परिक्षाको रिजल्ट आउन करिब एक महिना लाग्यो ।
‘जब नर्सिङ पढ्नको लागि मेरो नाम निस्क्यो त्यसपछि मैले मेरो खुसी साट्न दिदि,भिनाजुलाई खबर गरे । तर मैले मेरो नाम निस्केकोबारे खबर गर्नु भन्दा अघि नै उता दिदि,भिनाजुले मेरो नाम निस्किएको थाहा पाएर क्याम्पस भर्ना गरिदिनु भएको रहेछ,‘विगत सम्झिदै सकुन्तलाले भनिन्,’ ‘नर्सिङ पढ्दाको सबै खर्च मेरो दिदि,भिनाजुले व्यहोरेका कारण यहाँसम्म आइपुगेकी हुँ त्यो बेलाको खुसी अहिले यहाँ कसरी व्यक्त गर्नु र ।’
सकुन्तलाको स्टाफ नर्सको पढाइ भने निकै संघर्ष गरेर बित्यो त्यो बेलामा धेरै पैसा हुँदैनथ्यो। पैसा नभएर पढाइ रोकिनुपर्छ कि भन्ने डर हुन्थ्यो । तर दिदि भिनाजुका कारण आफुले सहजै स्टाप नर्स पढेको उनि बताउछिन् ।
२०५७ साल बैशाख १० गते सकुन्तलाको नर्सिङ पढाई सकियो सोहि महिनाको बैशाख २० गतेबाट उनले नेपालगंज नर्सिङ क्याम्पसमा मासिक २ हजार ३ सयमा अस्थाई जागिर सुरु गरिन् । जब जागिरे जीवन सुरु भयो त्यसपछि भने आफुले निकै मेहनत गरेको बताउँदै, ‘सकुन्तला भन्छिन् ,‘समय मिल्ने वित्तिकै कहिले भेरी अस्पतालमा काम गरे कहिले बागेश्वरी सि.एम.ए.क्याम्पसमा गएर पढाए अस्थाई जागिरे जीवन यस्तै गरी वित्यो ।
०५७ माघमा वीरेन्द्रनगर सुर्खेतका कृष्ण प्रसाद गौलीसँग विवाह बन्धनमा बाँधिएकी सकुन्तलाले आफ्नो बाँकी रहेको पढाई भने विवाह पश्चात पुरा गरेकी हुन् । ‘मेरो बाँकी रहेको पढाई पुरा गर्नमा मेरो श्रीमानको धेरै ठुलो सहयोग छ,‘सकुन्तालाले भनिन्,’‘उहाँले बाँकी रहेको पढाई पुरा गर्न प्रेरणा दिनु भयो मैले प्रेरणा दिए अनुसारको मेहनत गरे ।’
२०५९ सालमा सरकारी जागिरमा प्रवेश गरेकी सकुन्तलाले त्यो बेला साविक कर्णालीको सबैभन्दा विकट मानिने जिल्ला डोल्पाको दुनैमा साडे २ बर्ष बिताइन् । त्यो बेलाको डोल्पा धेरै विकट थियो विगत सम्झिदै सकुन्तला भन्छिन्,’तर म पेसा प्रति गौरब गर्ने भएकोले होला मलाई कहिले पनि दुखको अनुभूति भएन ।’
वि.एस.सी नर्सिङ वीर अस्पताल र एम.एस.सी. नर्सिङ चिनबाट पुरा गरेकी सकुन्तलाले नर्सिङ अफिसरमा नाम भने २०७४ मा निकालेकी हुन् । अफिसर भए देखि हालको प्रदेश अस्पताल सुर्खेतमा कार्यरत सकुन्तलाले प्रदेश अस्पतालको इमेरजेन्सी इन्चार्ज देखि अप्रेशन थियटरसममको जिम्मेवारी समालिसकेकी सकुन्तला अहिले भने प्रदेश अस्पताल निर्सिङ विभाग प्रमुख छन् ।
‘जब आफ्नो डिउटी समय आउछ त्यो बेला मलाई आफ्नो काम प्रति लगनशिल हुँन मन लाग्छ । मलाई विरामी अप्ठ्यारा आउछन् की भन्ने कहिले लाग्दैन । विरामीका कारण म कहिल्यै तानब लिदैन,‘उनि भन्छिन्,’ ‘मैले आफ्नो जिम्मेवारीमा आएको कामलाई सक्दिन र गर्दिन कहिल्यै भनिन ।’
आउने दिनहरुमा नर्सिङ पेसालाई कसरी विकास गर्ने भन्ने चिन्ता भएको भन्दै सकुन्तलाले सामाजिक रुपमा नर्सिङ पेसालाई राम्रो बुझाई राख्ने समाज विकास गर्न तिर आफु लागि पर्ने बताउछिन् । आफ्नो अधिकारको लागि बोल्दा जहिले दुख पाइने गरेको भन्दै उनले त्यसको लागि नेपाल सरकारले समेत नर्सिङ अधिकारका बारेमा विषेश पहल गर्नु पर्ने उनको बुझाई छ ।
विवशकुमार सेजुवाल । २६ माघ २०८१, शनिबार ०७:५२