सुर्खेत । नरहरिनाथमा मिनी ट्रक दुर्घटना हुँदा व्यवसायीको मृत्यु भएको छ । नरहरिनाथ–८ लालु गाउँबाट फर्किने क्रममा बिहीबार राति कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको मिनी ट्रक स्थानीय हलेसे भीरमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी नरहरिनाथ–५ रुप्सा घर भएका गाडी साहु ४५ वर्षीय गंग देउवाको मृत्यु भएको हो । लालु गाउँबाट मकै र भटमास खरिद गरेर स्थानीय बजार खुलालु हुँदै सुर्खेत फर्किने क्रममा ओरालोमा मिनी ट्रक दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख डीएसपी टेक बहादुर रावतले बताए ।
राति भएको दुर्घटनामा घाइते देउवालाई प्रहरीले भीरबाट निकालेर उपचारको लागि मान्म लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डीएसपी रावतले सुनाए। उनकाअनुसार गाडी सडकबाट २ सय ५० मिटर तल खसेको छ । पलाता ८ घर भएका चालक हाम फालेर बच्न सफल भएका छन् ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । २० वर्ष देखि नरहरिनाथ ८ खुलालु बजारमा खाद्य, खुद्रा तथा कपडाको व्यापार गर्दै आएका गाडी साहु देउवा पछिल्लो समयमा गाउँबाट अन्न खरीद गरेर सुर्खेत लगायतका ठाउँमा बेच्ने काममा सक्रिय थिए।
झिल्को खबर । २५ माघ २०८१, शुक्रबार ०९:१५