कैलाली गौरीगंगा नगरपालिका ९, मसुरिया बजारमा ३० बर्ष देखि संचालनमा रहेको ‘विहानी क्षितिज इङ्गलिस बोर्डिङ्ग स्कुल’की प्रधानाध्यापक एवं विद्यालय संचालक कल्पना भुसाल ‘काफ्ले’ करिब १ हजार जना विद्यार्थी र ४० जनाभन्दा बढि विद्यालय कर्मचारीको नेतृत्व समालिरहेकी छन् ।
पछिल्लो समय सबैको प्रेरणा बनिरहेकी कल्पना भुसाल‘काफ्ले’ अझ एकल महिलाहरुको लागि त झन् प्रेरणाको श्रोत बनिरहेकी छन् । उनको नेतृत्व गर्ने क्षमताको अहिले सबैले मुक्तकण्ठले प्रसंशा गरिरहेका छन् । उनै कल्पना भुसाल‘काफ्ले’ अहिले शैक्षिक क्षेत्रको कुशल नेतृत्वको रुपमा स्थापित छिन् । कल्पना आफुले नेतृत्व गरिरहेको संस्थाको सफलताको पछाडी छोरा आरएन र छोरी एन्जिलालाई प्रेरणाको श्रोत मान्छिन् ।
नवलपरासी प्रगतिनगर गा.वि.स.मा ४० बर्ष अघि जन्मेकी कल्पनाले कक्षा नर्सरी देखि १० सम्मको अध्ययन गाउँकै जनज्योती मा.वि.मा पुरा गरिन् । कल्पनाका बुवा,आमा भारतको हरिद्वार रिसिकेशमा बस्ने भएकाले भाई र बहिनी बुवा,आमासँग गए पनि कल्पना यता नेपालमा हजुरआमासँगै बसिन् र उच्च शिक्षा अध्ययन भने कुमारवर्ती मल्टिपल क्याम्पस कावासोतीमा पढ्न थालिन् ।
‘घरको आर्थिक अवस्था राम्रो थियो पढाईमा कुनै पनि समस्या थिएन । म पनि पढाईमा निकै मेहनती थिए जहिले राम्रो अङ्क ल्याएर पास हुन्थे,’ विगत सम्झिदै कल्पनाले भनिन्,’ ‘१२ पास हुने वित्तिकै नेपाल प्रहरीमा जागिर खाने रहर थियो माओवादी र सरकारबीच भएको युद्धका कारण त्यो बेला दाईले नेपाल प्रहरीको जागिर खान दिनु भएन ।’
नेपाल प्रहरीमा जाने इच्छा पुरा गर्न नपाएको झोकमा ३ दिनसम्म आफ्नो दाईसँग नबोलेको स्मरण गर्दै कल्पना भन्छिन्,’दाईले आखिर मेरो लागि भन्नु भएको हो भन्ने अहिले बुझे युद्धको बेला नेपाल प्रहरीमा जान नदिनुको कारण यो रहेछ भनेर ।’ पछि पढाईलाई नै निरन्तरता दिए । उच्च शिक्षा पढ्दै गर्दा गाउँकै एक विद्यालयमा शिक्षकको लागि आवेदन खुल्यो सोहि विद्यालयमा नाम निकालेर कल्पनाले अध्यापन गराउन थालिन् । त्यो बेला विहान क्याम्पस र दिउँसो पढाउन थालेकी कल्पनाको जागिरे जीवन सुरु भइसकेको थियो ।
कैलाली मसुरियाका कृष्ण भुसालसँग आफ्नो पढाई नछोड्ने शर्तमा २०६२ सालमा विवाह बन्धनमा बाधिएकी कल्पनालाई विवाह पश्चात पनि उनका जीवन साथि कृष्ण भुसालले उनको पढाईलाई निरन्तरता दिए । यतिसम्म की कल्पनालाई पढाईमा अबरोध नहोस् भनेर कृष्णले भान्सामा समेत कल्पनालाई काम गर्न दिएनन् । पछि कृष्णकै प्रेरणा र सक्रियतामा कल्पनाले कैलाली बहुमुखी क्याम्पसबाट आफ्नो पढाईलाई पुरा गरिन् ।
पढ्दै गर्दा कल्पनालाई जागिरको लागि थुप्रै अबसरहरु आए, र पनि त्यतातिर कल्पना लागिनन् । पहिला पढाईलाई सकाउने पछि आफुले चाहेको काम गर्ने उदेश्य लिएकी कल्पनाले जागिर तिर कहिल्यै पनि ध्यान दिनन् । जागिर तिर ध्यान नदिनुको अर्को कारण भने कल्पनाको जीवन साथि कृष्ण भुसाल हुन् । कृष्णले कल्पनालाई पढाईको बेला कुनै कमि हुन दिएनन् । कृष्णको उदेश्य पनि कल्पनाले आफ्नो पढाई सकाएर आफुले संचालन गरिरहेको ‘विहानी क्षितिज इङ्गलिस बोर्डिङ्ग स्कुल’मा कल्पनाको सहयोगको खाचो थियो । त्यसैले पनि कृष्णले आफ्नो स्कुल हुँदाहुँदै अन्य ठाउँमा जागिर खान जान दिएनन् । पछि कल्पना पढाई सकाए पश्चात सोहि स्कुलमा काम गर्न थालिन् ।
‘विहानी क्षितिज इङ्गलिस बोर्डिङ्ग स्कुल’ कैलाली मसुरिया क्षेत्रको चर्चित र पुरानो बोर्डिङ्ग स्कुल हो । यहाँका विद्यार्थीहरुको सबैभन्दा बढि रोजाईमा पर्ने स्कुल पनि यहि हो । कल्पना र कृष्णको सहकार्यमा स्कुलको काम मात्र होइन पारिवारिक अबस्था पनि निरन्तरण चलिरहेकै थियो । तर २०७७ बैशाख ११ गते कल्पनाका जीवन साथि कृष्ण भुसालको मृत्युले कल्पनाको जीवन साथिसँगको सहयात्रामा पुर्णविराम लाग्यो र त्यो दिन कालो दिन बन्न पुग्यो ।
कल्पनाको लागि जीवनमा अभाव के हो ! अनुभूति भएको थिएन । माइती घरमा राम्रो आर्थिक अबस्था भएका कारण उनले विद्यार्थी जीवनमा समेत कुनै अभाव झेल्नु परेन । विवाह पश्चात पनि उनका जीवन साथि कृष्णले कल्पनालाई कहिल्यै अभावमा राखेनन् र त कल्पनाले आफ्नो पढाईलाई सजिलै पुरा गरिन् । जव अप्रत्यासित रुपमा कल्पनाले जीवन साथि कृष्ण भुसाललाई गुमाइन् त्यसपछिका ६ महिनासम्म भने कल्पनाका दिनहरु बेहोसमै विते ।
‘मैले पढाई सकिसकेकी थिए म पनि मेरो श्रीमानले संचालन गरेको ‘विहानी क्षितिज इङ्गलिस बोर्डिङ्ग स्कुल’मा दुई बर्ष अघिदेखि विस्तारै सहयोग गर्दै आइरहेकी थिए । हामिले छोराछोरी र स्कुलको बारेमा मात्र चिन्ता गरेका थियौ आउने दिनमा स्कुल र छोराछोरीलाई कसरी अगाडी लिने सल्लाह हुँदै थियो यसैबीचमा जीवनमा नसोचको घटना घट्यो र त्यसको पिडा मैले भोग्नु प¥यो,’कल्पनाले भनिन्,‘मेरो श्रीमान गाउँघरमा सोझो र इमानदार हुनुहुन्थ्यो र पनि दुश्मनहरु पछि लाग्न छोडेका रहेनछन् जसको कारणले मैले मेरो श्रीमान गुमाउनु प¥यो ।’
जब जीवन साथि कृष्णले कल्पनालाई सधैंका लागि छोडेर गए त्यसपछि भने छोराछोरी र कृष्णले संचालन गर्दै आएको ‘विहानी क्षितिज इङ्गलिस बोर्डिङ्ग स्कुल’को जिम्मेवारी कल्पनाको काँधमा आइप¥यो । कृष्णको मृत्यु पछिका ६ महिना कसरी विते कल्पनालाई पत्तो छैन । एकातिर टुहुरा छोराछोरी जसको साहारा कल्पना बाहेक अरु कोहि पनि छैन । अर्को तिर ती छोराछोरीहरुको भविश्य जसको जिम्मेवारी कल्पना आफैले लिनु पर्ने छ ।
‘जीवनमा दुख के हो ! आफुलाई परेपछि मात्र थाहा हुन्छ । मेरो जीवन साथिको मृत्यु पछि मेरो साथमा छोराछोरी हुँदैन थिए भने आज म यो ठाउँमा हुँदिन थिए होला,’कल्पनाले भनिन्,‘छोराछोरीको अनुहार हेरेर मैले आफुलाई समालेर आज यो ठाउँमा ल्याइ पु¥याएकी हुँ ।’
पछिल्लो समय कल्पनाले संचालन गर्दै आएको ‘विहानी क्षितिज इङ्गलिस बोर्डिङ्ग स्कुल’ जीवन साथि कृष्णको मृत्यु पश्चात धेरैले बेच्नको लागि सल्लाह दिएका थिए तर कल्पनाले मानिनन् । किन की त्यो स्कुलमा श्रीमानको पसिना बगेको छ श्रीमानको सम्झनाको लागि भए पनि कल्पनालाई यो स्कुल नछाड्न छोरी एन्जीला र छोरा आरएनले बलियो साथ दिएका कारण आज कल्पनाले एक्लै संस्थाको नेतृत्व गरिराखेकी छन् ।
कल्पनाका जीवन साथि कृष्णले शैक्षिक क्षेत्रमा खेलेको भूमिकाका कारण आजभोलि आफुलाई काम गर्न धेरै सजिलो भएको बताउछिन् । जसका कारण अहिले निजि स्कुलहरुको संस्था एनप्याप्सनको केन्द्रीय समिति सदस्यमा मनोनित भएर काम गरिरहेकी छन् ।
‘आउने भविश्यमा जिम्मेवारीमा आएको काम गर्दिन र सक्दिन भन्ने छैन केहि नयाँ काम गर्नु प¥यो भने म छोराछोरी मिलेर सल्लाह गर्छौ जीवन साथि कृष्ण भुसालको कसरी नाम राख्ने त्यता मात्र चिन्ता छ,’कल्पना भन्छिन्,‘यो संस्थाको नेतृत्व गरेर जीवन साथिको अधुँरा सपना पुरा गर्ने मेरो योजना छ ।’
धेरै महिलाहरु काम गरेर अगाडी बढ्न डराउने गरेको समाजको तितो यथार्थ छ भन्दै उनले भनिन्,’म अरुको प्रेरणा भएको देख्दा आफुदेखि आफैलाई खुसी लागेको छ । अब आउने दिनमा यो स्कुललाई राम्रो गरेर यो क्षेत्रकै सबैभन्दा उत्कृष्ट स्कुल बनाउने धोको छ ।’
विवशकुमार सेजुवाल । १२ फाल्गुन २०८१, सोमबार १४:४७