सुर्खेत, सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषण गरे सँगै सम्भावित उम्मेदवारहरुको चर्चा हुन थालेको छ । यसैबीच कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको गृह जिल्ला कालिकोटमा अब आउने निर्वाचनमा प्रमुख तीन राजनैतिक दल नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, र नेकपा एमालेका सम्भावित उम्मेदवारहरुको चर्चा हुन थालेका छ । प्रतिनिधिसभा सदस्य तर्फ एक सिट र प्रदेशसभा सदस्य तर्फ दुई सिट रहेको कालिकोट जिल्लामा कसको सम्भावना कति छ ? झिल्को खबर डटकमले गरेको बिश्लेषण यस्तो छ ।
प्रतिनिधि सभा तर्फ नेकपा (माओवादी केन्द्र)
महेन्द्र बहादुर शाही नेकपा (माओवादी केन्द्र)का प्रभावसाली नेता हुन् साविकको कर्णालीबाट राष्ट्रिय राजनितिमा राम्रो प्रभाव राख्न सक्ने नेताको रुपमा चिनिन्छन् । दोस्रो संविधान सभा निर्वाचनबाट पहिलो पटक संसद प्रबेश गरेका नेता शाही संघीय सरकारको उर्जा मन्त्रि हुदै कर्णाली प्रदेशको प्रथम मु्ख्यमन्त्री बनिसकेका छन् ।
नेकपा (माओवादी केन्द्र ) भित्र साविकको कर्णाली र कालिकोट जिल्लामा नेता शाहीको विकल्पमा कुनै पनि नेता अहिले यो परिवेशमा उभिन सक्ने अबस्थामा छैनन् । जन स्तर देखि पार्टी कार्यकर्तासम्म लोकप्रिय नेताको रुपमा चिनिएका शाही यो पटकको निर्वाचनमा भने प्रतिनिधिसभा सदस्य लड्ने योजना बनाएको उनी निकट श्रोतको दाबी छ । महेन्द्र बहादुर शाहीले प्रतिनिधि सभा दाबी गरेको खण्डमा माओवादी केन्द्रबाट उनि निर्विरोध हुने देखिन्छ ।
नेपाली काँग्रेस
नेपाली काँग्रेस कालिकोटका युवा नेता भुपेन्द्रजंग शाही दोस्रो संविधान सभामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार महेन्द्र बहादुर शाहीसँग पराजित भएका थिए भने दोस्रो पटक प्रतिनिधि सभा निर्वाचनमा पनि माओवादी केन्द्रका दुर्ग बहादुर रावतसँग पराजित भए । नेपाली काँग्रेसको तर्फबाट दुई पटक नियमित निकट लिइसकेका शाहीलाई यो पटक भने काँग्रेस पार्टी भित्रको अन्तरद्धोन्दका कारण उनलाई पार्टीबाट टिकट पाउनको लागी निकै मेहनत गर्नु पर्ने देखिन्छ । आउने निर्वाचनमा प्रतिनिधि सभा सदस्य निर्वाचनको लागी नेपाली काँग्रेसबाट शाही लगायत हर्ष बहादुर बम, हिक्मत विष्ट र कालिबहादुर सहकारी पनि प्रतिनिधि सभा सदस्यको लागी टिकट लिन लागिपरेकाले शाहीलाई टिकट लिन पहिलेको जस्तो सजिलो भने पक्कै छैन तर नेपाली काँग्रेसको युवा पंक्तिमा सबैभन्दा रुचाइएका नेताको रुपमा शाही चिनिन्छन् ।
नेकपा एमाले
नेकपा एमालेका युवा नेता नगेन्द्र शाही (नेश्नल) पार्टीको सर्वसम्बत उम्मेदवार हुने निश्चित जस्तै देखिन्छ । एमालेबाट पार्टी विभाजित भएर समाजवादी बनिसकेपछि उनको विकल्पमा अरु देखिएको देखिदैन यद्यपी प्रेम बहादुर सिंङ नेकपा एमाले प्रवेश गरिसकेपछि उनलाई विकल्पको रुपमा लिएको भए पनि एमाले भित्रै रहेर संघर्ष गरेका नेताहरुको लागी प्रेम बहादुर सिंङ सर्वसम्बत हुने देखिदैन ।
प्रदेश सभा तर्फ
नेकपा (माओवादी केन्द)को तर्फबाट प्रदेशसभा सदस्यको लागी यो पटकको निर्वाचनमा धेरै आकांक्षी रहेको देखिएको छ । प्रदेशसभा (क) तर्फ नेकपा माओवादी केन्द्र कालिकोटका संयोजक लक्ष्मी चौलागाई (शैलेन्द्र) माओवादी केन्द्रकी केन्द्रीय सदस्य यशोदा न्यौपाने (पुर्णिमा) र गंगा खड्कालाई उम्मेदवारको रुपमा हेरिएको छ । यता नेपाली काँग्रेसबाट पनि धेरै आकांक्षी रहेका छन् हालका पार्टी सभापति अम्म शाही, नेता टेकराज शाही र मनराज शाहीले प्रदेशसभा दावि गर्ने देखिएको छ भने नेकपा एमालेको तर्फबाट अहिलेका पार्टी अध्यक्ष जसी प्रसाद पाण्डेको समेत दावि रहने देखिएको छ ।
प्रदेशसभा (ख)
प्रदेशसभा (ख) बाट अहिले निर्वाचित भएका महेन्द्र बहादुर शाही कर्णाली प्रदेशको प्रथम मुख्यमन्त्री भैसकेका छन् यो क्षेत्रलाई सबैले चासोका साथ हेरिरहेका छन् कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले जितेको क्षेत्र भएकोले पनि यो क्षेत्रमा आउने निर्वाचनमा कसले बाजी मार्छ भन्नेमा सबैको चासो यो पटको निर्वाचनमा छ । यसमा अहिले नेकपा (माओवादी केन्द्र) को तर्फबाट प्रभावसाली नेता एवं पूर्व राष्ट्रिय सभा सदस्य जीवन बुढा, विष्णु बहादुर विश्वकर्मा (विकल्प)लाई सम्भावित उम्मेदवारको हेरिएको छ भने यता नेपाली काँग्रेसको तर्फबाट प्रदेश पार्टी प्रवक्ता दमन शाही र नेपाली काँग्रेसका पुराना नेता मोतिराज बमलाई पनि यो क्षेत्रको बलियो उम्मेदवारको रुपमा हेरिएको छ । एमालेबाट भने सिनियरको आधारमा पार्टी केन्द्रीय सदस्य दक्षिणा शाही उम्मेदवार हुने सम्भावना छ यद्यपी शाहीले अरुकसैलाई समर्थन गरेको खण्डमा दोस्रो तहका नेताले पनि उम्मेदवार बन्ने अबसर पाउन सक्छन् ।
कसको सम्भावना कति ?
शान्ति प्रक्रिया सेना समायोजन र हतियार व्यवस्थापनको काम सकेर पहिलो पटक दोस्रो संविधानसभा को चुनावको बेला संसदीय राजनितिमा प्रवेश गरेका महेन्द्र बहादुर शाहीले नियमित रुपमा सफलता पाउदै आएका छन् । तत्कालिन अवस्थामा माओवादी पार्टीका प्रभावसाली नेता मानिएका खडक विश्वकर्मा (प्रकाण्ड), भरत बम (रणविर), एटम वि.सी.पूर्व राज्यमन्त्री नविन विश्वकर्मा हितमान, धनजित शाही (आदर्श) मुल पार्टी छाडेर बैद्य समुहमा तिर लागे त्यो बेला धेरैको अनुमान महेन्द्र बहादुर शाहीले चुनाव हार्छन् भन्ने थियो तर पार्टी भित्रका प्रभावसाली नेताहरुले मुल पार्टी छोडेर जादा पनि नेता शाहीले दोस्रो संविधान सभाको चुनाव जिते ।
२०७४ मा भएको पहिलो प्रतिनिधिसभा र प्रदेश सभाको चुनावको बेला कालिकोटबाट मुख्यमन्त्रीको घोषणा गरेर चुनाव लडेका नेकपा माओवादी केन्द्रका नेता शाही कर्णाली प्रदेशको प्रथम मुख्यमन्त्री भए र ४ बर्षे आफ्नो कार्याकाल पुरा गरे । यसरी हेर्दा कालिकोट जिल्ला माओवादी केन्द्रको आधार इलाका भएकोले र पहिलो संविधान सभा, दोस्रो संविधान सभा, र प्रनितिधि सभा हुदै प्रदेशसभा को निर्वाचनमा अहिले सम्म माओवादी केन्द्रले जित्दै आएको छ । यो पटको निर्वाचनमा पनि माओवादीकै जित हुने निश्चित जस्तै देखिएको छ ।
यता नेपाली काँग्रेसले पनि आफ्नो पोजिसन बलियो बनाएको छ । माओवादी केन्द्रले जित हासिल गर्दै आएको कालिकोट जिल्लामा नेपाली काँग्रेसले आफ्नो दोस्रो स्थानभन्दा तल झर्नु परेको छैन । कालिकोटमा माओवादी पछिको बलियो दोस्रो राजनिति दल नेपाली काँग्रेस रहेको छ नेपाली काँग्रेसका युवा नेता भुपेन्द्रजंग शाही दुई पटक पराजित हुदा दुबै पटक आफ्नो दोस्रो स्थान गुमाएका छैनन् ।
नेकपा एमाले भने नेकपा माओवादी र नेपाली काँग्रेस भन्दा कमजार देखिएकाले नेकपा एमालेको कालिकोटमा अहिले जित्ने सम्भावना देखिदैन । तर कालिकोटमा अहिलेको निर्वाचनमा केन्द्रमा हुने गठबन्धनले पनि प्रभाव राख्ने देखिन्छ । यदि राजनिति गठबन्धन भएको खण्डमा राजनिति भागबण्डाको आधारमा कुनै पनि पार्टी अगाडी आउन सक्छ ।
। २० श्रावण २०७९, शुक्रबार ०९:१३