राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले पोखरा–३ नदीपुरमा एलिट भलिबल एकेडेमी सञ्चालनमा ल्याएकी छन्। यो एकेडेमीमा महिला खेलाडीलाई नियमित प्रशिक्षण दिइँदै आएको छ। यहाँबाट सक्षम महिला भलिबल खेलाडी उत्पादन गरेर गण्डकीको पुरानो भलिबल साख फर्काउने उनको योजना छ।
एकेडेमी चलाउन पैसाको समस्या भएकाले चैत २९ देखि वैशाख १ गतेसम्म प्रथम एलिट कप महिला र पुरुष भलिबल प्रतियोगिता आयोजना गरिँदैछ। एकेडेमीमै हुने यो प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने अरुणा बताउँछिन्। प्रतियोगिताको संयोजकसमेत रहेकी उनले बचत भएको पैसा महिला खेलाडी उत्पादनमा खर्च गर्ने बताएकी छन्।
उनले भनिन्, ‘प्रतियोगिताबाट छानिएका राम्रा खेलाडीलाई पढाइमा छात्रवृत्ति र निःशुल्क प्रशिक्षण दिन्छौँ। यसले भविष्यमा खेलाडी उत्पादनमा सहयोग पुग्छ भन्ने हामीलाई लाग्छ।’ एकेडेमीले दुई जना उत्कृष्ट महिला खेलाडीलाई पढाइसँगै निःशुल्क प्रशिक्षण दिने जनाएको छ।
अरुणा भन्छिन्, ‘हाम्रो एकेडेमीको मुख्य लक्ष्य महिला भलिबल खेलाडी उत्पादन गर्नु हो। पोखरा र गण्डकीको पहिलाको साख जसरी पनि फर्काउने हाम्रो उद्देश्य छ।’ विशेषगरी महिला खेलाडीमा जोड दिने उनको योजना छ।
प्रतियोगितामा पुरुषतर्फ विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। महिलातर्फ विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पाउनेछन्। सर्वोत्कृष्ट पुरुष खेलाडीले ५ हजार र महिला खेलाडीले ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। विधागततर्फ उत्कृष्ट पुरुष खेलाडीले २ हजार र महिला खेलाडीले १५०० रुपैयाँ पाउनेछन्।
पुरुष टिमको दर्ता शुल्क ६५०० र महिला टिमको ३५०० तोकिएको छ। दुवैतर्फ टिममा सातौँ, आठौँ र नवौँ राष्ट्रिय खेलकुद वा अन्तरराष्ट्रिय प्रतियोगितामा खेलेका बढीमा दुई खेलाडी राख्न पाइने संयोजक अरुणा बताउँछिन्।
हालसम्म पुरुषतर्फ ९ र महिलातर्फ ७ टिमले नाम दर्ता गराइसकेका छन्। खेल संयोजक मलिन रोकाले यो जानकारी दिए। अरुणासहित तीन जनाले मिलेर नदीपुरमा यो एकेडेमी चलाएका छन् र महिला खेलाडीलाई नियमित प्रशिक्षण दिइरहेका छन्।
झिल्को खबर । २४ चैत्र २०८१, आईतवार ११:५५