सुर्खेत, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही हुम्लाबाट प्रनितिधि सभा र प्रदेश सभा तर्फ एक सिफारिस भएका छन् ।
बिहीबार बसेको क्षेत्रीय कार्यसमितिको बैठकले उपसभापति खड्कालाई प्रत्यक्षतर्फ एकल उम्मेदवार सिफारिस गरेको क्षेत्रीय कार्यसमिति सचिव मोहन रानाले जानकारी दिए । कार्यसमिति सचिव रानाका अनुसार सुर्खेत क्षेत्र नम्बर १ बाट समानुपातिकमा नरहरि भट्टराई र ज्ञानु भुसालको नाम सिफारिस गरिएको छ ।
त्यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ एकल उम्मेदवार सिफारिस भएका छन् । बिहीबार दुई वटै प्रदेश कार्यसमितिले प्रतिनिधिसभा सदस्यका लागि मुख्यमन्त्री शाहीको एकल नाम सिफारिस गरिएको हो । त्यस्ते प्रदेश कार्यसमिति ‘ख’ले प्रदेशसभा सदस्यका लागि मुख्यमन्त्री शाहीको एकल नाम सिफारिस गरेको छ ।
प्रदेश ‘ख’का सभापति तक्दीर लामाले प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ मुख्यमन्त्री शाहीको एकल नाम सिफारिस गरिएको जानकारी दिए । ‘दुबै प्रदेश कार्यसमितिमार्फत प्रतिनिधिसभा सदस्यका लागि मुख्यमन्त्रीज्यूको एकल नाम सिफारिस गरेका छौं, प्रदेशसभा सदस्यका लागि पनि उहाँको एकल नाम सिफारिस भएको छ,’ प्रदेश सभापति लामाले भने, ‘उहाँ प्रदेश र संघ दुबै ठाउँका लागि उपयुक्त भएकाले दुबैतर्फ एकल नाम सिफारिस गरेका हौं।’
प्रदेश ‘क’का सभापति मानदेव शाहीले गठबन्धन हुने भएकाले दुवैतर्फ नाम सिफारिस गरिएको बताए।
झिल्को खबर । १६ भाद्र २०७९, बिहीबार २०:०६