प्रदेशसभामा आगजनी भएपछि हिउँदे अधिवेशन सूचना प्रविधि कक्षमा बस्ने

सुर्खेत । कर्णाली प्रदेशसभाको आगामी हिउँदे अधिवेशनको बैठकहरु सूचना प्रविधि कक्षमा बस्ने भएको छ । जनेजी पुस्ताको आन्दोलनको क्रममा गत भदो २४ गते कर्णाली प्रदेशसभामा आगजनी गरेर ध्वस्त बनाएपछि आगामी माघ २१ गतेदेखि हुने हिउँदे सभाको बैठक प्रदेशसभाको परिसरमा रहेको सूचना प्रविधि कक्षमा बस्ने भएको हो ।

सूचना प्रवधि कक्षलाई अस्थायीरुपमा प्रदेशसभा बैठकस्थल बनाउने गरी मर्मत सम्भार र रंगरोगन गर्न थालिएको छ । प्रदेशसभा बैठकस्थलगायत धेरै संरचनाहरु आगजनी गरेर क्षतिग्रस्त बनाएपछि हिउँदे अधिवेशन माघ २१ गतेभित्र बोलाउनुपर्ने प्रावधान अनुसार बैठक संचालन गर्न अस्थायीपमा सूचना प्रविधि कक्षलाई प्रयोग गर्नुपरेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा भवनमा व्यापक क्षति हुँदा तत्काल बन्न नसक्ने भएकोले अस्थायीरुपमा काम चलाउका लागि सूचना प्रविधि कक्षलाई बनाउन लागिएको सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिए । पहिले उक्त स्थानमा पत्रकारहरुका लागि प्रदेशसभाले सूचनाहरु ब्रिफिङ गर्ने गर्दथ्यो ।
पुरानो बैठकस्थलमा आगजनीबाट सवै संरचना ध्वस्त बनेका छन् ।

त्यतिमात्र होइन, पदाधिकारीहरुको कार्यकक्ष, विषयगत समितिका बैठकस्थलहरु पनि आगजनीबाट ध्वस्त भएका थिए । अहिले पदाधिकारीहरुको कार्यकक्ष, विषयगत समितिका बैठकस्थलहरु पनि मर्मत सम्भारका साथै रङरोगन गर्न थालिएको उनको भनाइ छ। अस्थायी बैठक स्थल कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास निर्देशनालयमार्फत मर्मत, सम्भारको काम हुँदैछभने विषयगत समिति तथा पदाधिकारी कार्यकक्षभने प्रदेशसभा नियमित बजेटबाट मर्मत कार्य भइरहेको सूचना अधिकारी पौडेलले बताए । उनका अनुसार यही पुसको अन्तिम सातासम्म अस्थायी प्रदेशसभा बैठक स्थललगायतका संरचनाहरुको मर्मत गर्ने काम सक्ने लक्ष्य छ ।

पुरानो प्रदेशसभा बैठकस्थल बनाउनका लागि समय लाग्ने भएको छ । त्यहाँका कुर्सी, रोष्टमलगायत विद्युतीय संरचनाहरु सवै ध्वस्त भएपछि हिउँदे अधिवेशन अगाडि मर्मत गर्न सकिने भएकोपछि प्रदेशसभा सचिवालयले अस्थायी बैठक स्थलको खोजी गरेको थियो । विकल्पका रुपमा जिल्ला समन्वय समितिलगायतका स्थानहरु परेपनि सुरक्षालगायतका दृष्टिकोणले प्रदेशसभा परिसरभित्रै रहेको सूचना प्रविधि कक्ष उपयुक्त मानिएको सूचना अधिकारी पौडेलले बताए । आन्दोलनका क्रममा सूचना प्रविधि कक्ष पनि ध्वस्त थियो । अहिले त्यहाँको संरचनाहरु मर्मत सम्भार र रङरोगन गर्न थालिएको छ । उहाँले माघ २१ मा हुने हिउँदे अधिवशेन संचालनका लागि अस्थायी रुपमै भएपनि करिव करिव सवै तयारी पूरा गरिसक्ने दावी गरे ।
यसैविच कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गत आइतवार प्रदेशसभाको निरीक्षण गरी भवनको मर्मत तथा निर्माणको तयारीबारे जानकारी लिएका छन् । मुख्यमन्त्री कँडेललाई भवन मर्मतलगायत विविध पक्षवारे प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी गराएका थिए। सचिव बुढाथोकीले अस्थायीरुपमा प्रदेशसभा बैठकस्थलको तयारी र अन्य मर्मत सम्भारको काम तिब्रगतिमा भइरहेको जनाएका थिए । जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको आगजनीबाट कर्णाली प्रदेशसभामा सबै गरी करिव चार करोडको क्षति पुगेको थियो ।