

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच पार्टीबीच एकताको सहमतिमा हस्ताक्षर भएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह साक्षी बसेर रास्वपाका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । उज्यालो नेपाल पार्टीसँग एकतापछि राष्ट्रिय स्वतन्त्र पार्टीमा तीन उपसभापति रहने भएका छन् । उज्यालो नेपाल पार्टीका घिसिङ तीन उपसभापतिमध्ये पहिलो वरियतामा रहने भएका छन् ।
सातबुँदे सहमतिको चौथो नम्बर बुँदामा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने ।’
पार्टी एकतापछि पनि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टी नै रहने भएको छ ।
यसअघि पार्टी एकताको लागि पटकपटक भएका छलफलमा उज्यालो नेपालका संरक्षक कुलमान घिसिङले पार्टीको नाम रास्वपा नै रहने भए चुनाव चिह्न बलिरहेको बत्ती राख्नु पर्ने अडान राख्दै आएका थिए ।
मेयर बालेन्द्रले एकतापछि फेसबुकमा लेखेका छन्, म नेपाल हाँसेको हेर्न चाहन्छु । बालेनले केही समयअघि म हाँसेको हेर्न चाहन्छुु नामक गीत युट्युबबाट रिलिज भएको थियो । उक्त गीत १० वर्षअघि नै रिलिज भए पनि पुनः रिभाइज गरेर लाज शरणमु फिल्मका लागि बनाइएको थियो ।

झिल्को खबर । १४ पुष २०८२, सोमबार २१:४६