

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारको वार्षिक बजेटबाट सञ्चालन हुने विकास आयोजनाहरू अधुरो रहने गरी बजेट छुट्याउने प्रवृत्तिको अन्त्य गर्न निर्देशन दिएका छन् । विगतमा एक वर्षे बजेटलाई बहुवर्षीय आयोजनाजस्तै गरी आधा काम गरेर छाड्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै उनले अब यस्तो अभ्यास स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।
मंगलवार कर्णाली प्रदेश योजना आयोगद्वारा आयोजित प्रदेश विकास समस्या समाधान समितिको बैठकलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले योजनाको छनोटदेखि कार्यान्वयनसम्म गम्भीर र यथार्थपरक सोच आवश्यक रहेको बताउदै उनले स्रोत सुनिश्चितता भइसकेका तथा बहुवर्षीय आयोजना बाहेकका योजनामा विनियोजन गरिएको बजेटबाटै सबै काम एकै आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
“आगामी वर्ष थप बजेट आवश्यक पर्ने गरी आधा–अधुरो काम गर्ने प्रवृत्तिले न त विकास देखिएको छ न त नागरिकमा सकारात्मक सन्देश गएको छ,”मुख्यमन्त्री कँडेलले भने,“बजेट खर्च भएको देखिए पनि परिणाम नदेखिने अवस्था सिर्जना भएको छ । यस वर्षदेखि कुनै पनि योजना अधुरो राख्ने प्रवृत्तिलाई पूर्ण रूपमा अन्त्य गर्नुपर्छ ।”
मुख्यमन्त्री कँडेलले विकास आयोजनालाई प्रभावकारी बनाउन यथार्थपरक योजना निर्माण, स्पष्ट प्राथमिकता निर्धारण र समयमै कार्यान्वयन अपरिहार्य रहेको बताए । योजना बनाउँदा स्थानीय आवश्यकता, कार्यान्वयन क्षमता र बजेटको आकारलाई ध्यानमा राख्नुपर्नेमा उनले जोड दिदै उनले काम सुरु भएपछि समयमै सम्पन्न हुने गरी अनुगमन तथा मूल्यांकन प्रणालीलाई थप प्रभावकारी बनाइनुपर्ने उल्लेख गरे ।
बैठकमा सहभागी मन्त्री तथा सचिवहरूलाई उनले आ–आफ्ना मन्त्रालय अन्तर्गतका योजनाहरूको प्रगति नियमित रूपमा समीक्षा गर्न भन्दै विकास निर्माणका काममा ढिलासुस्ती, समन्वयको अभाव र जिम्मेवारी पन्छाउने प्रवृत्ति अब स्वीकार्य नहुने बताए ।
बैठकमा मन्त्रालयहरूले आयोजना सञ्चालनमा भोगेका समस्याबारे छलफल गर्दै समाधानका विषयमा निर्णय गरिएको थियो। संघीय सरकारसँग सम्बन्धित विषय समाधानका लागि अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ । बैठकमा प्रदेश सरकारका सबै मन्त्रालयका मन्त्री तथा सचिवहरूको उपस्थिति रहेको थियो।
कर्णाली प्रदेश अनुगमन तथा मूल्यांकन निर्देशिका, २०७५ को दफा ३ को उपदफा (१) बमोजिम बसेको बैठकमा चालु आर्थिक वर्षका विकास योजनाहरूको प्रगति, समस्या र समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो ।
मुख्यमन्त्री कँडेलले प्रदेशको सीमित स्रोत र साधनको अधिकतम उपयोग गर्दै परिणाममुखी विकास गर्नुपर्ने उल्लेख गर्दै योजना अधुरो राख्ने संस्कृतिको अन्त्य नै कर्णालीको विकासका लागि अनिवार्य शर्त भएको बताए ।

झिल्को खबर । १५ पुष २०८२, मंगलवार १९:४५