सुर्खेत । बुधबार दिउँसो नेकपा (माआवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलको बैठक बसिरहेका बेला बैठक हलभित्रै छिरेर एमालेकी सांसद् दक्षिणा शाहीले रातो किताब पछारिन् । एमाले सांसद शाहीले पछारेको रातो किताब नेकपा माओवादी केन्द्रकी सांसद मिलन खड्काको शरिरमा लाग्यो ।
बुधबार दिउँसो साढे दुई बजेतिर नेकपा (माओवादी केन्द्र)कर्णाली प्रदेश सभा संसदीय दलको बैठक बसिरहेको थियो । बैठकमा मुख्यमन्त्री राजकुमार शर्मा, भौतिक मन्त्री मंगल शाही लगायत पार्टीका सबै सांसदहरु उपस्थित थिए । नेकपा एमालेकी सांसद दक्षिणा शाही एक्कासी आएर ढोकाबाट, किताबले हान्नुभयो । मेरो मुखतिर आएपछि हातले छेकेँ नेकपा माओवादी केन्द्रकी सांसद् मिलन खड्का रोकाले भनिन्, ‘सायद उहाँले भौतिक मन्त्रीलाई फालेको होला। यदि हातले नछेकेको भए उहाँलाई चोट लाग्थ्यो ।’
सरकारका प्रवक्ता एवं कानुन मन्त्री कृष्णबहादुर जिसीले एमालेका सांसदको यो कार्य अमर्यादित रहेको बताए ।
‘माओवादीको संसदीय दलको बैठक बसिरहेको थियो। एक्कासी उहाँ आएर रातो किताब पछार्नुभयो। चोटपटक नलागे पनि यो व्यवहार त राम्रो होइन,’ मन्त्री जिसीले भने, ‘अर्को दलको बैठक बसिरहेका बेला त्यहिँ प्रवेश गरेर किताब पछार्नु प्रतिपक्ष दल कतिसम्म अमर्यादित छ भन्ने कुरा प्रष्ट देखाउँछ।’
मन्त्री जिसीले एमालले संसदीय मर्यादामा रहि आफ्ना बानी सच्याउनुपर्ने सुझाव दिए।
एमालेकी सांसद दक्षिणा शाहीले भने आफूले दिएका योजना भौतिक मन्त्रीले नहालिदिएपछि किताब फिर्ता गरेको बताइन्।
‘मैले कसैलाई किताबले हानेकी होइन, पहिला भौतिक मन्त्रीलाई भेटेर मैले तीनवटा योजना दिएकी थिएँ। उहाँले दुईवटा मात्रै योजना हुन्छ भनेपछि म ढुक्क भएकी थिएँ। पछि पनि उहाँले मलाई एउटा योजना मात्रै भएको छ भनेर भन्नुभएको थियो,’ सांसद शाहीले भनिन्, ‘रातो किताब हेर्दा त एउटा पनि योजना मेरा छैनन्। अनि मलाई केटाकेटी जस्तो व्यवहार गर्ने भनेर तपाईंको किताब तपाईं नै लैजानुस् भनेर फिर्ता गरेकी मात्रै हुँ। खाली किताब लिएर जनतालाई के दिने?’
आश्वासन मात्रै दिएपछि रिस उठेर किताब फिर्ता गरेको सांसद शाहीले बताइन्। सांसद् शाहीले भौतिक पुर्वाधार विकास मन्त्री मंगल शाही नाताले आफ्नो देवर पर्ने भन्दै झुटा आस्वासन दिएपछि किताब लिनुको अर्थ नभएको बताइन्। सांसद शाही कालिकोटबाट एमालेकी समानुपातिक सांसद् हुन्।
झिल्को खबर । १३ असार २०८०, बुधबार २३:३३