सुर्खेत । नेकपा (माओवादी केन्द्र)का उप–महासचिव जनार्दन शर्माले पार्टीभित्र फरक मतको सम्मान गर्ने संस्कार मासिदै गएका कारण कम्युनिष्ट स्प्रिट अनुसार सामूहिक छलफलको परिपाटी कमजोर हुन पुगेको बताएका छन् ।
साउन २५ गते देखि शुरु भएको माओबादी केन्द्रको बैठकमा नेता शर्माले पार्टी भित्र माथिदेखि तलसम्म परिवारवाद हावी भएका कारण पार्टी कमजोर बन्दै गएको बताए ।
पार्टीको बैठकमा १४ पृष्ठ लामो प्रस्ताव पेस गर्दै नेता शर्माले पार्टीभित्र मुद्दा विशेषमा कमीकमजोरीबारे छलफल र बहसलाई विषयान्तर गर्न पार्टी फुट्दैछ भन्ने हल्ला चलाइएको गुनासो पनि उनले गरेका छन् ।
शर्माले नेतृत्व र नीतिप्रति प्रश्न उठाउँदा पार्टी फुटाउन लागेको भनेर शर्माप्रति नै आरोप लाग्ने गरेको थियो । त्यसैले उनले भनेका छन्, ‘विधि, पद्धतिभित्र सन्चालित सही आचरणयुक्त पार्टी बनाऔं र चलाऔं भन्दा डर मान्नुपर्ने, धक मान्नुपर्ने, लाञ्छित हुनुपर्ने अवस्था सृजना गरियो । अझ थप दुरुत्साहन गर्न राज्य शक्तिको समेत दुरुपयोग भएको आभाष भयो ।’
‘पार्टी सन्चालनको मूल्य मान्यता, विधि, पद्दतिको धज्जी उडाइएका कारण न प्रणालीको स्थापना भयो न संगठनको स्वरुप र कमिटीहरु कतिबेला के बन्छ भन्ने कुरा अन्यौलग्रस्त रह्यो,’ उनले भनेका छन् ।
पार्टी अध्यक्ष प्रचण्डलाई नेता शर्माले अब नेतृत्व हस्तान्तरण गर्नु पर्ने सुझाव दिएका हुन् ।
झिल्को खबर । २७ श्रावण २०८१, आईतवार १२:५२