सामुदायिक विद्यालय शिक्षा आर्जन गर्ने थलो की बोझ केन्द्र

अनुभूति

मंगलबार दिउँसो करिब ३ बजेतिर हामी पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–१० घाटगाउँमा रहेको सरस्वती माध्यामिक विद्यालय पुग्याैँ । गेट प्रवेशपछि जताजतै हो–हल्ला थियो । वरिपरी ठुला रुख-वृक्षहरुले गुम्म परेको विद्यालयका चारैतर्फ साना-ठुला संरचनाहरु थिए भने बिच मैदानमा जताततै हरियो दुबो थियो ।

गेट प्रवेशबाट दक्षिणतिर स–साना बालबालिकाहरु त्यही दुबोमा लडिबुडी गरिरहेका देखिन्छ । हामी विस्तारै विद्यालयको अवलोन गर्दै पानी खाने धारोमा पुग्यो, एउटै धारोमा ४/५ जना विद्यार्थी पानी पिउने तरखर गरिरहेका थिए । नजिकै बेहाला शौचालय, हामी विद्यार्थकाे नजिक जाँदा अलि टाढीन खोजे ।

त्यसैको दक्षिण,उत्तरतर्फ विद्यार्थीहरुको निकै बाक्लो जमघट जस्तै बाहिर चौरको दुबैमा छरिरहेका थिए । दक्षिण तर्फको नयाँ भवनमा माथिल्लो कक्षाका विद्यार्थीहरु हुनुपर्छ, सायद अध्ययन गरिरहेका थिए भने त्यहीको बायाँतर्फको पुरानो जीर्ण भवनमा विद्यार्थीहरु आ–आफ्नै सुरसारमा खेलिरहेमा देखिन्थे ।

त्यही नजिकबाट हामी उभिएको नजिक एक जना काँधमा बहिनी बोकेका विद्यार्थी आए । विद्यालयको ड्रेस, हंसिलो मुहार, अनि काँधमा आफ्नो सानो बहिनी, ध्यान उनीतिर गयो । हत्तपत्त उनलाई सोधिहाल्यौं:

तिम्रो नाम केहो ?

 विनोद हो ?

विनोद के नि ?

थापा… ए अनि कति कक्षा पढ्छौं नि ?

२ कक्षा

अनि काँधमा बोकेको को हुन् ?

बहिनी ए.. अनि घरमा को हुनुहुन्छ नि ?

बुबामम्मी देश (इन्डीया) जानुभएको छ । दुई बर्ष जत्ति भयो ।

ए अनि बहिनीलाई यतिसानै छाडेर ?

मेरो आन्टिको छोरी हो ।

तिमी कति बर्षको भयौ ?

९ बाट १० मा लागें ।

चौकुने १० सरस्वती माध्यामिक विद्यालय कक्षा २ मा अध्ययनरत विनोद थापा आफ्नो बहिनी बोक्दै

सम्भवतः उनका बुबाआमा रोजगारीको सिलशिलामा भारत गएको हुनुपर्छ । हामीले उनलाई त्यो भन्दा बाँकी कुरा सोधेनौं, किनकी उनले भनेका कुराहरु बाहेक सोध्न मनले नै मानेन । मलाई लाग्यो सामुदायिक विद्यालय ज्ञान केन्द्र होकी बोझको केन्द्र ? विनोदको कुरा अनि उनको व्यबस्था र विद्यालयको अबस्था हेर्दा यो देशका सरकारी विद्यालयको हालत कस्तो होला भन्ने सजिलै चित्रण गर्न सकिन्छ ।

बाबुआमाकाे साथबाट टाढा भएको उनकाे बालमष्तिष्कमा कस्तो प्रभाव परिरहेको होला ? के उनले विद्यालयबाट लिनु पर्ने शिक्षा लिइरहेका छन् त ? प्रश्नहरुले मनमा बिलहरी छुटिरह्यो । अनि उत्तरतर्फको दायाँ तर्फ जाँदै गर्दा एक जना विद्यार्थीले छुस्स पारेर यहाँ सोलार छ हामी त कम्प्युटर चलाउन, सिक्न पाउँदैनौ भन्ने आवाज सुनियो । अनि महिले कक्षा १० कि छात्रा कमला विकलाई यो बारेमा सोधें। उनले पनि सोही कुरा दोहो¥याईन् ।

हामी हेडसरको कार्यालयमा प्रवेश ग¥यौं । हेड सरले विद्यालयको बारेमा ब्रिफिङ गरे । उनले भने ,‘ के गर्ने हजुर..! अन्य विद्यालयको माविमा हुने विद्यार्थी हाम्रोमा प्राविमै छन् तर हामीसँग शिक्षकको अभाव छ । बालशिक्षाको लागि कोटा छैन् । बन्न लागेका संरचना ठेकेदारको लापरबाहीका कारण लथालिंग छन् । एउटै कोठामा १०० भन्दा बढी विद्यार्थी राख्नुर्ने बाध्यता छ । हेडसरले शिक्षालाई गुणस्तरिय रुपमा विकास गर्नका लागि विद्यालयमा अझै ९ जना शिक्षकको अभाव भएको सुनाए भने पानी, बत्ति र बजेट अभाव जस्ता अभावै–अभावको पोको फुकाले । अनि लाग्यो के सरकार ग्रामिण भेगका सामुदायिक विद्यालयको अबस्थाबारे जानकार छ ? जहाँ मान्छे शिक्षा आर्जन गर्न होइन् बोझको भारी बोक्न विद्यालय आइरहेका हुन्छन् ।