प्रतिगमनविरुद्ध खबरदारी गर्दै समाजवादको यात्रामा अघि बढौंः नेता शाही

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले गणतन्त्र दिवस २०८२ को अबसरमा शुभकामना सन्देश दिदै प्रतिगमनद विरुद्ध खबदारी गर्दै समाजवादको यात्रामा अघि बढ्न आग्रह गरेका छन् ।

शुभकामना सन्देशमा उनले गणतन्त्र स्थापनाका क्रममा भएको जनयुद्ध, जनआन्दोलन र प्रदेश प्राप्तिका लागि भएको आन्दोलन लगायतका सबैखाले न्यायपूर्ण संघर्षहरूमा सहभागी सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन्। त्यस्तै, बेपत्ता, घाइते तथा अपांगता भएका योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै आम जनसमुदायप्रति आभार प्रकट गरेका छन्।

शुभकामना सन्देशमा नेता शाहीले भनेका छन्, “नेपाली जनताले दशकौं लामो समयसम्म सशस्त्र तथा निशस्त्र रुपमा गरेको बलिदानीपूर्ण संघर्षको उपलब्धिका रूपमा २०६५ साल जेठ १५ गते संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो। यस गौरवपूर्ण उपलब्धिलाई जोगाउनु हाम्रो कर्तव्य हो।”

उनले पछिल्लो समय संविधानविपरीत भइरहेका प्रतिगमनकारी र असंवैधानिक गतिविधिप्रति सचेत रहन आग्रह गर्दै, समाजवाद उन्मुख राष्ट्र निर्माणका लागि दृढतापूर्वक अघि बढ्न सबैलाई अपिल गरेका छन्।

शाहीले गणतन्त्र स्थापनापछि प्राप्त भएका समावेशी लोकतन्त्र, समानुपातिकता, संघीयता, धर्मनिरपेक्षता लगायतका राजनीतिक उपलब्धिहरूलाई धरापमा पार्ने दुस्प्रयासविरुद्ध खबरदारी गर्न जरुरी रहेको शुभकामना सन्देश मार्फत उल्लेख गरेका छन्।
शाहीले शुभकामना सन्देशमा भनेका छन्,‘गणतन्त्र दिवस २०८२ ले राष्ट्रिय एकता, विकास र समृद्धिको अभिभारा पुरा गर्दै समाजवादी राज्य प्रणाली स्थापनाका लागि प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।’