अपमान सहने सीमा हुन्छ, पार्टी निजी सम्पत्ति होइनः छिरिङ ल्हामु लामा

सुर्खेत । नेपाली कम्युनिष्ट पार्टीकी नेतृ तथा पूर्व प्रतिनिधिसभा सदस्य छिरिङ ल्हामु लामाले पार्टी कुनै व्यक्तिको निजी सम्पत्ति नभई सम्पूर्ण कार्यकर्ता र जनताको साझा उत्तराधिकार भएको स्पष्ट पारेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले अपमान एकपटक सहन सकिने तर बारम्बार सहन नसकिने बताएकी छन्। हिजो ‘छिरिङ’माथि जे व्यवहार भयो, आज फेरि त्यही दोहोरिन्छ भन्ने भ्रम कसैले नपाले हुन्छ उनले फसबुकमा लेखेकी छन् ।

लामाले पार्टी र व्यवस्थाको पक्षमा खुलेर बोल्ने र लड्ने साहस देखाएकै कारण सामन्ती सोच भएका समूहबाट सडकमा अपमानित गर्न खोज्दा पनि आफू चुप नलागेको उल्लेख गरेकी छन्। व्यक्तिगत जीवन भुलेर पार्टी र व्यवस्थाको पक्षमा अडिग रहँदै निरन्तर संघर्ष गरिरहेको उनले बताइन् ।

उनले आफूजस्ता सांसद हिजो पनि धेरै थिए र आज पनि छन् भन्दै संसद भवनभित्र सिङ्गो देशले सम्झिने गरी आफ्नो पहिचान स्थापित गरेको दाबी गरेकी छन्। ‘हाजिर मात्र लगाएर बस्नेहरूका बीच मैले आफ्नो जीवन दाउमा राखेर सामन्ती र प्रतिक्रियावादी शक्तिहरूको विरुद्ध सदनभित्र र सामाजिक सञ्जालमा समेत एक्लै भए पनि संघर्ष गरेँ,’ उनले लेखेकी छन्।

त्यतिबेला आज ‘म नै हुँ’ भन्ने धेरै नेताहरू मौन बसेको आरोप लगाउँदै लामाले सत्य, सिद्धान्त र जनपक्षीय राजनीतिबाट एक इन्च पनि पछि नहट्ने स्पष्ट पारेकी छन्। हिजो पनि सत्य र न्यायको पक्षमा एक्लै लडेको स्मरण गराउँदै उनले आगामी दिनमा पनि आफ्नो संघर्ष जारी रहने संकेत गरेकी छन्।