

सुर्खेत । संघीय सरकारले कर्णालीका तीन स्थानीय तहमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कालीकोटको रास्कोट नगरपालिका, मुगुको खत्याड गाउँपालिका र डोल्पाको डोल्पो बुद्ध गाउँपालिका ‘धो’मा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले इलाका प्रशासन कार्यालय स्थापनाको लागि गृह मन्त्रालयअन्तर्गतका निकायहरूको संगठन संरचना दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय हो जानकारी दिए ।
कर्णालीका यी तीन स्थानीय तह र अन्य आसपासका नागरिकहरूले अब जिल्ला प्रशासनबाट सम्पादित हुने कामहरूको लागि जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता हट्ने भएको छ । डोल्पाको डोल्पो बुद्ध गाउँपालिका ‘धो’बाट सदरमुकाम दुनै पुग्न चार दिन लाग्छ भने मुगुको खत्याड गाउँपालिकाबाट सदरमुकाम गमगडी पुग्न दुई दिन लाग्छ । यता, कालीकोटको रास्कोट नगरपालिका, पलाँता गाउँपालिका र पचालझरना गाउँपालिकाबाट जिल्ला सदरमुकाम पुग्न यातायातमा करिब तीन घण्टा लाग्छ ।
कालीकोट रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले इलाका प्रशासन स्थापनाको लागि दुई वर्षदेखि पहल थाले पनि जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले इलाका प्रशासन कार्यालय स्थापना गरिदिएकोमा खुसी व्यक्त गरे ।
“हामीले चार पालिकाको पाइक पर्ने ठाउँ रास्कोट नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापनाको निम्ति दुई वर्षअघिदेखि पहल थालेका थियौँ तर जति पहल गर्दा पनि तत्कालीन सरकारले हामीलाई आज हुन्छ भोलि हुन्छ भन्दै घुमाइरहेको थियो,” कालीकोट रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले बाह्रखरीसँग भने, “जेनजी सरकार आइसकेपछि हाम्रा माग राखेका थियौँ, उहाँहरूले नै छिटोछरितो तरिकाले गरिदिनु भयो ।”
यता, मुगु खत्याड गाउँपालिका उपाध्यक्ष सरिता रोकायाले पनि सरकारले इलाका प्रशासन कार्यालय स्थापना गरेकामा खुसी व्यक्त गरिन् । उनले आफू निर्वाचित भएर आइसकेपछि यहाँका नागरिकहरूलाई इलाका प्रशासन कार्यालय स्थापना गर्ने बाचा गरेको भन्दै अहिलेको सरकारले स्थापनाको निर्णय गर्दा अब प्रशासनिक कामको लागि गाउँपालिकाको वडा नं. १० बाट दुई दिन लगाएर सदरमुकाम मुगु गमगडी पुग्नुपर्ने बाध्यता हटेको बताइन् ।
डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी रमेश पौडेलले सरकारले निर्णय गरिसकेको भन्दै अब केही दिनमा गृह मन्त्रालयको निर्देशनमा कार्यालयको स्थापना हुने जानकारी दिए । इलाका प्रशासन कार्यालयले जिल्ला प्रशासन कार्यालयबाट सम्पादित हुने कामको विवरण प्रमुख जिल्ला अधिकारीले प्रत्यायोजन गरेपश्चात हुने पौडेलले बताए ।
अब आउने दिनमा इलाका प्रशासन कार्यालय स्थापना भएका स्थानीय पालिका र आसपासका पालिकाहरूले नागरिकता, राष्ट्रिय परिचयपत्र, पासपोर्ट लगायतका कामहरू गर्न सदरमुकाम जानुपर्ने बाध्यताको हट्ने भएको छ ।
त्यति मात्र नभइ त्यहाँको शान्ति सुरक्षा लगायतका कामहरू पनि इलाका प्रशासन गर्ने गरी व्यवस्थापन हुनेछन् ।
यता, कालीकोट रास्कोट नगरपालिकामा स्थापना भएको इलाका प्रशासन कार्यालयबाट भने चारवटा स्थानीय तहले सेवा लिने नगरपालिका प्रमुख धर्मराज शाहीले बताए । शाहीका अनुसार, पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका, शान्तित्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिकाले सेवा लिने छन् ।

झिल्को खबर । १२ पुष २०८२, शनिबार ०६:४८