

सुर्खेत । यही फाल्गुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी, जुम्लाले युवा कलष्टरबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेका अम्मराज शाहीले आफ्नो उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् ।
जिल्लाका केन्द्रीय सदस्यहरू तथा जिल्लाका पदाधिकारीहरूबीच सम्पन्न संयुक्त छलफलबाट युवाको प्रतिनिधित्व हुने गरी अम्मराज शाही (अम्मरजंग) लाई प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्ला समिति जुम्लाले सिफारिस गरेको थियो ।
सो सिफारिसप्रति आभार व्यक्त गर्दै शाहीले पार्टीले आफूमा गरेको मूल्याङ्कनप्रति धन्यवाद दिदै आइतवार उम्मेदवारी फिर्ता गरेको घोषणा गरेका हुन् । उनले उम्मेदवारी फिर्ता लिए पनि पार्टी संगठन निर्माणका लागि आफ्नो क्षमताअनुसार काम गर्ने बताएका छन् ।
“प्रतिनिधिसभा तिर अहिले लाग्ने सोच बनाएको छैन । म बाहेक माथि पठाएका जुन नेताले टिकट ल्याए पनि उहाँलाई जिताउनको लागि म लागिपर्ने छु उम्मेदवारी फिर्ता पछि,”शाहीले बाह्रखरीसँग भने,“पार्टी भित्र एकता होस् भनेर मैले आफुबाट शुरुवात गरेका हो अरु फिर्ता गर्नुको कुनै कारण छैन ।”
नेपाली कम्युनिष्ट पार्टी ९ पुषमा नरेश भण्डारी, दलबहादुर जिसी, नमराज न्यौपाने, अम्मराज शाही र हरि रावललाई प्रतिनिधिसभा प्रतक्ष्यतर्फ सिफारिस गरेको थियो । अब शाहीको उम्मेदवारी फिर्तासँगै नरेश भण्डारी बाहेक ३ जना प्रस्तावित उम्मेदवारको रुपमा रहेका छन् ।
उनले आगामी निर्वाचनमा पार्टीले मूल्याङ्कन गरी अघि सारेका जुनसुकै उम्मेदवारलाई आफ्नो पूर्ण समर्थन रहने स्पष्ट पारेका छन् ।
नेकपाले प्रत्येक निर्वाचन क्षेत्रबाट सिफारिस गर्दा पाँच जना त सिफारिस गरेको छ तर युवाहरुको प्रतिनिधित्व सुनिश्चित भन्दा पनि युवाको मन जित्नको लागि मात्र नाम समावेश गर्न लागेको आरोप लागेको छ ।

झिल्को खबर । १४ पुष २०८२, सोमबार ०९:४३