निर्वाचनका लागि कर्णालीमा १८ हजार सुरक्षाकर्मी खटाइने, ३ सय ३९ प्रहरी अँझै अपुग 

सुर्खेत ।  आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशमा पनि सुरक्षाकर्मी खटाउने तयारी भइरहेको छ ।

दश जिल्लामा ९ सय ४१ मतदान स्थल र १ हजार ४ सय ३७ मतदान केन्द्र रहेको कर्णालीका १० जिल्लमा १८ हजार पाँचसय २८ जना सुरक्षाकर्मी खट्ने भएका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तयारी अवस्थामा रहे पनि निर्वाचन प्रहरीको तालिम सञ्चालन भइरहेको छ । कर्णाली प्रदेश प्रहरीका अनुसार नेपाल प्रहरी र निर्वाचन प्रहरीसहित १५ हजार ३ सय २८ प्रहरी खट्ने भएका छन् ।

प्रदेश प्रहरी प्रवक्ता एसएसपी रामप्रकाश शाहले प्रदेशभर अझै ३ सय ३९ प्रहरी अपुग भइरहेको बताए । जसमध्ये पाँच हजार पाँचसय ८० जना नेपाल प्रहरी र ९ हजार ७ सय ४८ निर्वाचन प्रहरी खट्ने छन् ।

यस्तै सशस्त्र प्रहरी बलले भने निर्वाचन प्रहरीसहित तीन हजार दुई सय प्रहरी खटाउन थालेको हो । दुईहजार दुई सय सशस्त्र प्रहरी र १ हजार निर्वाचन प्रहरी तयार अबस्थामा राखेको छ । कर्णालीका ४ सय ४१ मतदान केन्द्र अति संवेदनशील रहेको डिआईजी जयराम सापकोटाले बताए ।

कर्णालीका १ हजार ४ सय ३७ मतदान केन्द्रमध्ये ३ सय १ सामान्य र ६ सय ५१ संवेदनशील सूचीमा छ । उनले भने, ‘यसपटक सबै मतदानस्थल सरकारी कार्यालयमा राख्ने तयारी गरेका छौं।’

प्रदेश निर्वाचन आयोगका अनुसार, प्रदेशभर कुल मतदाता संख्या १० लाख ३७ हजार २५० रहेको छ । प्रदेश निर्वाचन आयोगका अनुसार, प्रदेशभर कुल मतदाता संख्या १० लाख ३७ हजार २५० रहेको छ ।